अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा बाढीपछिको डेढ महीना : अझै आएन कृषि बाली क्षेति विवरण

सुदूरपश्चिममा बाढीपछिको डेढ महीना : अझै आएन कृषि बाली क्षेति विवरण


धनगढी – करीब दुई महीनाअघि सुदूरपश्चिममा गएको बाढीले कृषि बालीमा कति क्षति भयो भन्ने विवरण प्रदेश सरकारले अझैसम्म पनि संकलन गरेको छैन। क्षति विवरण संकलन नहुँदा यस क्षेत्रका किसानले क्षतिपूर्तिको प्रकृया समेत अघि बढाउन पाएका छैनन् । विवरण नै नआएपछि राज्यले दिने क्षातिपुर्ति पाउने सम्भावना त हुने नै भएन ।
क्षतिको विवरण संकलन गर्न सडक अभाव र झन्झटिलो कानूनी प्रावधानले समस्या भएको अधिकारीहरूको भनाइ छ । ‘कृषि बालीमा तत्कालै क्षतिको अवस्था बुझ्न संयन्त्र परिचालन गरिएको थियो,’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहायक सूचना अधिकारी टिकेन्द्र कुस्मीले भने, ‘तर बाढी पहिरोका कारण सडक सञ्जाल थिएन, संयन्त्र प्रभावित स्थानमा पुग्नै समय लाग्यो ।’
उहाँले बाढीका कारण क्षति भएको कृषि बालीको एक चरण तथ्याङ्क आएपनि जिल्लाबाट पुष्टि भएर नआएको बताए । जिल्लामा भएको क्षतिको विवरण सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समिति र कृषि ज्ञान केन्द्रबाट स्वीकृत भएर आउनु पर्ने प्रावधान छ ।
प्रारम्भिक विवरणअनुसार सुदूरपश्चिममा दुई हजार ६ सय ३३ हेक्टरमा लगाइएको आलु, दुई हजार ५६७ हेक्टर जमिनमा लगाएको तरकारी, चार हजार ९१६ हेक्टरमा लगाइएको तोरी, २९७ हेक्टरको केरा, ४७ हेक्टरको दलहन, एक हजार हेक्टरको कोदो, २१ हेक्टरको उखु बाली बाढी र पहिरोका कारण क्षति भएको छ ।
कुस्मीका अनुसार बाढीका कारण पाँच करोड २६ लाख ६४ हजार मूल्य बराबरको आलु, पाँच करोड १३ लाख ३६ हजार मूल्य बराबरको तरकारी, नौ करोड ८३ लाख २० हजा मूल्य बराबरको तोरी बाली, ५५ लाख ८० हजार बराबरको केरा, नौ लाख ४० हजार बराबरको दलहन, चार लाख २० हजार बराबरको उखु र ६ हजार बराबरको मसला बालीमा क्षति भएको छ ।
बाढी पहिरोले सुदूरपश्चिममा एक हजार ८३६ पशु चौपायमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । तीन लाख ३२ हजार ५५६ भुरा माछा बाढीले बगाएको छ । यस्तै ११ हजार दुई सय कुखुराका खोर, पाँच हजार ८९२ गोठ, ८१ ट्रली पराल, ७२ हेक्टर घाँस नष्ट भएको प्रदेश सरकारको प्रारम्भिक तथ्यांक छ ।
सुदूरपश्चिममा दुई लाख २४ हजार पाँच हेक्टरमा लगाएको धानबाली नष्ट भएको प्रारम्भिक तथ्यांक छ । त्यसअनुसार प्रदेशमा एक अर्ब २४ करोड, ९५ लाख आठ हजार मूल्य बराबरको धानबाली नष्ट भएको थियो । तर, एक पटक प्राप्त तथ्यांकमा पुनर्विचार तथा छानबिन भइरहेका कृषि मन्त्रालयका सहायक सूचना अधिकारी कुस्मीले बताउनुभयो । उहाँका अनुसार कैलालीमा ९१ हजार ४४६ हेक्टर, कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर, डडेल्धुरामा ६ हजार १८८ हेक्टर, डोटीमा १० हजार ७१५ हेक्टर, अछाममा १६ हजार ७९० हेक्टर, बझाङमा १२ हजार ७७० हेक्टर, बाजुरामा सात हजार दुई सय हेक्टर तथा बैतडीमा नौ हजार हेक्टरमा लगाएको धानबाली बाढीका कारण नष्ट भएको प्रारम्भिक तथ्यांक छ ।
राहत बारे प्रदेश सरकारले निर्णय नै गर्न सकेन
बाढी गएको दुई महीना पुग्न लागिसक्दा पनि किसानलाई के र कसरी राहत दिने भन्ने निर्णयमा सुदुरपश्चिम सरकार पुग्न सकेको छैन । क्षतिको विवरण संकलन भैसकेपछि निर्णय गर्ने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको थियो । बाढीबाट क्षति भोगेका किसानलाई कसरी सम्बोधन गर्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको कृषि तथा सहकारी मन्त्रालयका सहायक सूचना अधिकारी कुस्मीले बताउनुभयो ।
प्रदेश सरकारले धानबाहेक अन्य बालीमा भएको क्षतिमा मात्रै किसानलाई क्षतिपुर्ति दिने सोच बनाएको छ। ‘धानको क्षतिपुर्ति संघीय सरकारले दिने घोषणा गरेको छ,’ कुस्मीले भन्नुभयो, ‘अन्य बाली तथा पशु चौपायामा भएको क्षतिमा प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ, त्यो काम तथ्यांक पुगेपछि अगाडि बढ्छ ।’
अन्य बाली तथा पशु चौपायामा भएको क्षतिको क्षतिपुर्ति वा राहत दिन पनि मन्त्रालयसँग बजेटको अभाव छ । कुस्मीका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग कृषि बली रोगव्याधी तथा क्षति विवरण शीर्षकमा ४५ लाख मात्रै बजेट छ । तर, वर्षेनी बर्षाका कारण कृषि क्षेत्रमा मात्रै करोडौंको क्षति भएका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट माग गर्नुपर्ने अवस्था छ । ‘यति धेरै क्षति हुन्छ भन्ने अनुमान नै थिएन,’ उहाँले भन्नुभयो, ‘अब अर्थसँग थप बजेट नमागी हामीले कृषकलाई राहत दिन सक्दैनौं ।’