अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्रामीण सडकले विकास होइन, विनाश

ग्रामीण सडकले विकास होइन, विनाश


ओखलढुंगा – विना गुरुयोजना जताततै निर्माण गरिएका ग्रामीण सडकले सुविधा मात्र दिएको छैन, बाढीपहिरोको जोखिम पनि त्यत्तिकै निम्त्याएको छ । बर्सेनी हिउँदमा खनिएका कच्ची सडकबाट बगेको भेलले स्थानीयको उठिबास मात्र भएको छैनन् ज्यानसमेत गुमाएका छन् ।

वातवरणीय प्रभाव मुल्यांकन र मानववस्तीमा हुने क्षतिको आंकलन नगरी निर्माण गरिएका दीर्घकालीन महत्वका सडकसमेत नागरिकका लागि सुविधाभन्दा दशा बनेको हेर्न ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका-२ उबूं पुग्दा हुन्छ । दुधकोशी एकवार सडक निर्माणका क्रममा भत्काइएको पहाडबाट सुरु भएको पहिरो अहिले वस्तीसम्मै आइपुगेको छ । गत असोजमा सुरु भएको पहिरो अहिले सुख्खायाममा समेत पूर्ण रुपमा खस्न रोकिएको छैन ।

पहिरोले वडा-१ र २ का वस्ती उच्च जोखिममा छन् । मानेभञ्ज्याङ गाउँपालिका-१ चुनेका ७२ वर्षीया असलमाया राई हिजोआज निदाउन सक्दिनन् । घरमुनि दुधकोशी नदी किनार हुँदै खसेको पहिरोले उनको निन्द्रा खोसिएको हो । पहिरोले घरैमुनि भएको खेतबारी बगाउन थालेको छ । उहाँले भन्नुभयो, ‘अब के खाने कहाँ जाने चिन्ता लागेको छ । आफूले कमाई खाँदै आएको खेतबारी पनि पहिरोले तानिसक्यो घरै जाला भन्ने पीर भो ।’

स्थानीय सरकारको बेवास्ता

पहिरो पीडित भएका एक दर्जन परिवारको सुरक्षित आवाशको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले भने चासो दिएको छैन । स्थानीयस्तरमा केही गर्न सकिने अवस्था नै नरहेकाले पीडितहरूलाई आफैं सुरक्षित रहन आग्रह मात्र गरेको छ ।

पहिरोले गाउँ मात्र जोखिममा परेको छैन, गाउँका नागरिक स्थानीय बजार जयरामघाटसम्म आवतजावत गर्ने एकमात्र बाटो पनि पहिरोले बगाएको छ । नेपाल सरकारले कच्ची सडक खनेको स्थान हुँदै पहिरो खसेपछि मानेभञ्ज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तल्लो भेगका नागरिक बढी प्रभावित छन् । त्यहाँका नागरिकलाई बजारसँग जोड्ने बाटो नै बगाएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नै समस्या देखिएको छ ।

पहिरोले मानिसहरू आवतजावत गर्ने बाटोसमेत छैन । भएको बाटो बगायो, किनमेल गर्न जाने बजारसँगै सम्बन्ध टुटेको छ । जान त सकिन्छ तर पहिरोको जोखिम मोलेर पहिरोको शीरबाट जानुपर्छ । स्थानीय सरकारले भने डरलाग्दो पहिरोले त्रसित बनेका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । स्थानान्तरण र पुनर्स्थापनाका काम गर्न नसकिने भन्दै आफैँ सुरक्षित रहने भनिएको हो ।

पहिरो तत्काल रोकिने अवस्थाको नरहेकाले सुरिक्षत रहन र पहिरो आसपासको क्षेत्रमा खेतीपातीसमेत नगर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीराज राईले तत्काल जोखिममा रहेका नागरिकलाई अन्यत्र सार्न सकिने अवस्था नरहेको बताए । उनले यस विषयमा छलफल गरेर पहल गर्ने बताएका छन् ।

भौगर्भिक अध्ययन आवश्यक

तत्काललाई पहिरो नियन्त्रणको कुनै उपाय नभए पनि यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गर्न आवश्यक रहेको सरोकारवालना निकायको भनाइ छ। पहिरोपीडितले भने सुरक्षित पुनर्वासको माग गरेका छन् । पहिरोपीडितको विषयमा समाचारहरू प्रकाशित भएपछि जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय सरकारका प्रतिनिधिसमेत बोलाएर अध्ययन गरेको छ । हर्कपुर सडक आयोजना अन्तर्गत निर्माण थालिएको उक्त सडक  विनाअध्ययन जथाभावी खन्दा समस्या आएको स्थानीयको गुनासो छ ।

अचानक पहिरो आएको र त्यस क्षेत्रमा पहिरो जान सक्ने पूर्वानुमान नभएको सडक आयोजनाको भनाइ छ। पहिरोले स्थानीयको खेतबारी नै बगाउने अवस्था आएपछि गृह मन्त्रालयमा यसको अध्ययनका लागी पत्राचार गर्ने र यसको दिगोपनाका लागि आवश्यक प्रकृया अगाडी बढाइने सडक डिभिजन कार्यलय हर्कपुरका डिमभजन प्रमुख अरुणकुमार लालकर्णले बताउनुभयो ।

पहिरोका कारण तत्काल तीनघर स्थानीय जोखिममा छन् भने अन्य १० भन्दा बढी घरपरिवार प्रभावित छन् । उनीहरूले खेती गर्दै आएका जमिनलाई समेत पहिरोले तान्ने अवस्था आएपछि स्थानीय झनै मर्कामा परेका छन् । स्थानीयको समस्या बुझ्न र पहिरो अवलोकनका लागि केही दिनअघि पुगेको स्थानीय सरकार र स्थानिय प्रशासनको टोलीले त्रसित सथानियलाई ढाडस दिएको छ । प्रहरीले पहिरोबाट सुरक्षित रहन र आवश्यक परेको खण्डमा तत्काल कार्यलयमा सम्पर्क राख्न भनेको छ ।