अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई ठूला पार्टीको महाधिवेशनः एमाले ‘हाइटेक’, कांग्रेस ‘हिलटेक’

दुई ठूला पार्टीको महाधिवेशनः एमाले ‘हाइटेक’, कांग्रेस ‘हिलटेक’


काठमाडौं– दुई साताबीचमा दुई ठूला दलका महाधिवेशन भएका छन् । संसदको ठूलो दल एमाले र सत्तारुढ दल कांग्रेसले महाधिवेशन गरेका छन् ।

व्यवस्थापन, जनपरिचालन र प्रविधि प्रयोगमा कांग्रेसभन्दा एमाले अब्बल सावित भएको छ । विद्युतीय मेसिनबाट मतदानमात्रै होइन एमालेले परिचय पत्रदेखि खाना, बसोबास र अन्य व्यवस्थापकीय कामसमेत हाइटेक प्रविधिबाट गरेको छ । तर, कांग्रेसले मतदानका लागि खानेपानीको ट्यांकीमा प्वाल पारेर प्रयोग गरेको भन्दै आलोचना भएको छ ।

सामाजिक सञ्जालमा कतिपय कांग्रेसीले नै लेखेका छन्, ‘एमाले ‘हाइटेक’, कांग्रेस ‘हिलटेक’

न्यूकारखानाले लेखेको छ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निवाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गर्‍यो । समितिले पेस गरेको प्रस्तावमा छलफल भयो । तर, कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू बीच प्रविधिमैत्री जमानामा ईलेक्ट्रोनिक भोटिङ सिष्टम लागु गर्ने विषयमा सहमति जुट्न सकेन ।

‘यो प्रविधिकै जमाना हो । हामीले प्रविधिको प्रयोग गर्दा छिटो छरितो र त्रुटीहरू कम हुन्थ्यो । त्यसैले ईलेक्ट्रोनिक सिष्टमबाट भोटिङ गरौँ भनेर केन्द्रीय कमिटीमा प्रस्ताव पेस गरेका थियौँ । नेताज्यूहरू र उमेद्‌वारहरूबीच सहमति जट्न सकेन’, निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले भन्नुभयो ।

ईलेक्ट्रोनिक प्रविधिबाट मतदान हुँदा प्रविधि नै ह्याक गरेर आफ्नो नामको मत बदर पनि हुन सक्ने डर नेता तथा उमेद्‌वारहरूले देखाए । त्यसैले अहिले पुरानै प्रणालीबाट मतदान हुँदै छ ।

निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरि २९ वटा मतपत्र तयार पारेको घिमिरे बताउँछन् । मत पेटिकाका लागि भने कांग्रेसले सूर्यदया कम्पनीको पानी ट्याङ्की प्रयोग गर्दै छ ।

‘अहिले २९ वटा मतपत्र तयार भएको छ । तर, उम्मेद्‌वारी फिर्ता लिने समय बाँकी नै छ । भोलिसम्ममा मतपत्र घट्न पनि सक्छ’, घिमिरे भन्नुहुन्छ ।

अहिले १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान हुँदा एक जनालाई मतदान गर्न कम्तिमा आधा घण्टादेखि एक घण्टासम्म लाग्छ ।

अहिले कांग्रेसमा मतदान गर्नका लागि देशभरबाट चार हजार भन्दा बढि महाधिवेशन प्रतिनिधीहरु सहभागी छन् । ईलेक्ट्रोनिक प्रणालीबाट मतदान भएको भए छिटो महदान हुन्थ्यो भने मत गणनाका लागि पनि धेरै समय लाग्दैनथ्यो । यस्तै, मत बदरको सम्भावना पनि हुँदैनथ्यो ।

तर, कांग्रेसका नेताहरूले प्रविधिको प्रयोग गर्न डराएर पुरानै मतदान प्रक्रिया अपनाउँदा मत बदरको सम्भावना पनि उच्च देखिन्छ भने मतदान र मतगणनाका लागि धेरै समय लाग्छ । नेताहरूले प्रविधिको प्रयोग गर्न नमानेका कारणले निर्वाचन समिति पनि खुसी छैन ।