जाजरकोट – राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चार कस्तुरी मारिएको तथ्य सार्वजनिक भएको छ । असोज महिना लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु चार कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनुभयो ।
जुम्लाका व्यापारीले बारेकोटका स्थानीयवासीसँग मिलेर कस्तुरीलाई पासो हालेर मारेको तथ्य सार्वजानिक भएको सिंहले जानकारी दिनुभयो । सरकारी संयन्त्र गतिलो नहुँदा वन्यजन्तु संरक्षणका लागि बारेकोटमा काम हुन नसकेको हो । अधिकृत सिंहले भन्नुभयो, ‘एक महिनामा एक जनाले चारवटा मारेको खबर थियो, म जङ्गल जाँदा यो त नमूनासमेत फेला परे, डोल्पा र जुम्लाबाट कुकुर, पासो र बन्दुकसहित आएका सिकारीले एक सिजनमा सात/आठवटा कस्तुरी मार्छन्, मुल्साम जिरिमा पनि मार्छन् भन्ने कुरा छ, दाँतप्रति एक रु हजारका दरले बिक्री गरेको खबर आएको छ ।’
तीन वर्षमा प्रहरीले बरामद गरेका १९ लोपोन्मुख रेडपाण्डा ९रातो हाब्रे० को छालामध्ये १० जाजरकोटबाटै गएको गाउँपालिकाको तथ्याङ्क छ । घटनामा आठजना जाजरकोटका युवा पक्राउ परेका छन् । गत आइतबार मात्रै बारेकोटको मुलसामका ३५ वर्षीय लोकबहादुर रोकायलाई प्रहरीले रेडपाण्डाको छालासहित सेपुखोलाबाट पक्राउ गरेको थियो ।
कस्तुरी प्रजजन केन्द्र स्थापना हुँदै
बारेकोट गाउँपालिका–९ सक्लामा कस्तुरीपालन तथा प्रजनन केन्द्र स्थापना गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको छ । कोषले प्रजजन केन्द्र बनाउन रु एक करोड १८ लाखमा काम भइरहेको छ। कोषका वरिष्ठ संरक्षण अधिकृत डा नरेश सुवेदीले केन्द्रका लागि यसवर्ष एक करोडकै हाराहारीमा बजेट विनियोजन भई काम भएइरहेको बताउनुभयो ।
उहाँका अनुसार भवनको काम सकिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन वा डोल्पाबाट बीउ कस्तुरी ल्याएर प्रजनन केन्द्र स्थापना गरिने छ । नेपालमा वन्यजन्तु प्रजनन र व्यावसायिक पालनका लागि कानून निर्माण भएपछि प्रजजन केन्द्र स्थापनाको बाटो खुलेको हो ।
त्यस्तै मासुका लागि जरायो, चित्तल, रतुवा, घोरल, बँदेललगायत वन्यजन्तु पाल्ने नियमावली पास भएसँगै थप बाटो खुलेको हो । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन भने बाँकी छ ।
डिभिजन वन कार्यलयका कर्मचारी अधिकांश समय सदरमुकाम बसेर दिन कटाउने गरेका छन् । स्थानीय जनप्रतिनिधि सर्वसाधारणसँगसम्बन्ध बिग्रने डरले चोरी निकासी भए पनि चुप लागेर बस्ने गरेका पाइएको छ । बारेकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले व्यक्तिगत रुपमा जङ्गलमा राखिएका पासो नष्ट गर्ने काम गरिएको बताउनुभयो ।
चोरी निकासी रोक्ने प्रहरी प्रमुख हटाउन दबाब
बारेकोटमा भारी मात्रामा चोरी निकासी हुने गरेको सूचना आधारमा पछिल्लो समय प्रहरीले आफ्नो अभियान आक्रमक बनाएको छ । बारेकोट तथा अन्य ठाउँबाट दर्जन बढी हतियार र तस्करलाई कब्जामा लिई मुद्दा चलाइरहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।
स्थानीयवासीबाट असहयोग हुँदा काम गर्न मुस्किल भएको उपरीक्षक थापाले दुखेको गर्नुभयो । प्रहरीको अभियान आक्रमक भएपछि उपरीक्षक हटाउन माग गर्दै नेताहरु गृहमन्त्रालयसमेत पुगेका थिए । वर्षौदेखि बदमासी गरेर व्यापार गर्दै आएका सञ्जालको जालो भत्किएपछि अहिले तस्कारको रुवाबासी भएको सर्वसाधारण बताउछन् ।
प्रतिक्रिया