काठमाडौं– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जित्न एमाले अध्यक्ष ओलीको त्रास देखाएर ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्नुभएको छ ।
महाधिवेशन उदघाटनका दिन र आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागको कार्यक्रममा देउवाले आफू हारे पुनः ओली सत्तामा आउने भन्दै जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताउनुभएको छ ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्,’ देउवाले भन्नुभएको थियो ।
आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता व्यक्त गर्दै देउवाले अगाडि भन्नुभएको थियो, ‘मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ ।’
महाधिवेशन उदघाटनका दिन पनि देउवाले भन्नुभएको थियो, ‘मेरो नेतृत्वमा सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो। मेरो सरकार गठन भएलगत्तै जनताले ओलीको शासनबाट मुक्ति पाए। पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ। आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मा भयो।’
यो बचाउने कि नबचाउनेरु प्रश्न गर्दै देउवाले सभापतिमा फेरि आफूलाई फेरि जिताउन आग्रह गरे। आफू सभापतिमा आए स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसकै हुने दाबी गरे।
‘कांग्रेस सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुन्छ। राष्ट्रिय सरकार पनि कांग्रेसको हुन्छ। त्यसका लागि मलाई यो पल्ट जिताइदिनुस्, यही हो साथी हो’ देउवाले भने, ‘म कुनै पनि हालतमा डरत्रासबाट मुक्त शासन ल्याइन्छ। यो ओलीजस्ता शासनबाट मुक्ति पाउन नेपाली कांग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु। बनाइन्छ बनाइन्छ बनाइन्छ। तपाईंहरु मलाई साथ दिनुस् धन्यवाद। जय नेपाल,’ देउवाले भन्नुभएको थियो ।
सभापति प्रतिस्पर्धी देउवाको अभिव्यक्तिप्रति शेखर कोइरालाले कडा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘महाधिवेशनमा कांग्रेसका प्रतिनिधिले भोट हाल्छन् कि केपी ओलीले ?’







प्रतिक्रिया