अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडकमा धुलो उडेपछि स्थानीयले गरे सडक अवरुद्ध

सडकमा धुलो उडेपछि स्थानीयले गरे सडक अवरुद्ध


झापा – निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै कनकाई नगरपालिका र झापा गाउँपालिका जोड्ने अमरपथ मार्ग स्थानीयले अवरुद्ध गरेका छन् । सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै झापा-६ स्थित शरणामतीका स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन् । यो सडक प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय झापाले ५७ करोड रुपैयाँमा चुवी-रोषन-मैनाचुली जेभीलाई ठेक्का दिएको थियो ।

२०७६ भदौमा चार वर्षमा काम सक्ने गरी यो सडक निर्माणको ठेक्का लागेको थियो । उक्त निर्माण कम्पनीले अर्कै निर्माण व्यवसायीलाई पेटी ठेक्का दिएपछि निर्माणमा ढिलाइ भएको स्थानीयको बुझाइ छ। सडकको उत्तरी भाग अर्थात् कनकाई नगरपालिकातर्फ धामधम काम भएको तर झापातर्फ कामै नभएको भन्दै स्थानीयले विरोध स्वरूप सडक बन्द गर्नुपरेको स्थानीय लोकबहादुर कार्कीले बताउनुभयो ।

आइतबारबाट गरिएको यो आन्दोलनले राष्ट्रिय राजमार्ग हुलाकी राजमार्गको निर्माण कार्यमा समेत असर परेको छ । स्थानीयको अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको सामग्री लिएर गएका ट्रिपर पनि बाटोमा रोकिएका छन् ।

‘हामीले सबै दिन धुलो खानुपर्ने ? हामीलाई किन ढाँट्नु,’ उहाँले भन्नुभयो, ‘काम गरेनन् । त्यही भएर हामीले सडक अवरुद्ध गरेका हौँ ।’ स्थानीयले वडाकार्यालयमा निवेदन दिँदा पनि बेवास्ता गरेका कारण सडक अवरुद्ध गर्नु परेको उहाँ बताउनुहुन्छ । स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका छन्। जसका कारण झापा गाउँपालिका जाने ठूला सवारी बाटोमा लामवद्ध भएका छन् ।

आइतबारबाट गरिएको यो आन्दोलनले राष्ट्रिय राजमार्ग हुलाकी राजमार्गको निर्माण कार्यमा समेत असर परेको छ । स्थानीयको अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको सामग्री लिएर गएका ट्रिपर पनि बाटोमा रोकिएका छन् । स्थानीयले निर्माण सामग्री ढुवानीको हकमा सोमबार दिनभरको अवस्था हेर्ने र वार्ता भएर सकारात्मक भएमा मात्र सवारी चल्न दिने बताएका छन् । स्थानीयको पहलमा सोमबार वडाध्यक्षसहित बसेको छलफलले वडाध्यक्षलाई वार्ताको पहल गर्न आग्रह गरेका छन् ।

झापा गाउँपालिका-६ का वडाध्यक्ष हरिबहादुर बानियाँले जनताको जनताले गरेको आन्दोलनबारे सम्बन्धित निकायमा जानकारी गराएको बताउनुभयो । तर, सम्बिन्धत निकायबाट माग सम्बोधनमा ध्यान नदिइएको उहाँले बताउनुभयो । स्थानीयले केही दिनअघि दिएको ज्ञापनपत्र सबै ठाउँमा पठाउँदा पनि बेवास्ता गरेका कारण यो अवस्था आएको उहाँको भनाइ छ ।