बिर्तामोड – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले झापाको शिवसताक्षी–४ बुलोचोकमा निर्माण गर्न लागिएको दश मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाको शिलान्यास आज बिहान गर्नुभएको छ।
शिलान्यास गर्दै नेम्वाङले झापामा शुरु भएको ऊर्जा उत्पादन आयोजना अत्यन्तै राम्रो कामको थालनी भएको बताउनुभयो । उहाँले सौर्य ऊर्जा उत्पादनका दृष्टिले नेपाल उत्तम राष्ट्र भएकाले आयोजना सफल हुने बताउनुभएको छ । ऊर्जामा लगानी सबैका लागि मुनाफा र राष्ट्रका लागि योगदान हुने नेता नेम्वाङको भनाई थियो ।
झापा इनर्जीले एक वर्षभित्र उत्पादन थाल्ने गरी काम शुरु गरेको छ । आवश्यक प्रक्रिया पूरा भइसकेको छ अब निर्माणको काममा लागेको कम्पनीका अध्यक्ष एलपी साँवा लिम्बुले जानकारी दिनुभयो । सौर्य ऊर्जाको आयोजनाबाट १० मेगावाट ऊर्जा उत्पादन हुने लिम्बुले बताउनुभयो । ग्रिडमा आवद्ध सौर्य ऊर्जा आयोजनाको निर्माण सम्पन्न गर्नलाई रु. ७९ करोड लागत लाग्ने बताउनुभयो । नागरिकको तर्फबाट रु. २० करोड र बाँकी रकम माछापुच्छ्रे बैंकको कर्जा लगानी हुने बताइएको छ ।
झापा इनर्जीले २१ विगा ७ कठ्ठा जमिन खरिद गरिसकेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । झापाका स्थानीयबासीहरुको अगुवाईमा झापामै केही काम गर्न सो आयोजनाको परिकल्पना गरिएको भन्दै भट्टराईले अर्को वर्षबाट उत्पादन थालनी गरिने भट्टराईले जानकारी दिनुभयो ।
नेपालमा सौर्य ऊर्जाबाट हालसम्म २९ मेगावाट विद्युत उत्पादन भइसकेको छ । झापा इनर्जीको उत्पादनपद्धि ३९ मेगावाट पुग्नेछ ।
प्रतिक्रिया