काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने खेलमा लागेको बताउनुभएको छ ।
आज अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दाहाल र नेपाल पुँजिवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने खेलमा लागेको दाबी गर्नुभयो ।
उहाँले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोपसमेत लगाउनुभयो । महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने आजको राजनीतिको चुनौती रहेको व्यक्त गर्नुभयो ।
महासचिव पोखरेल भन्नुहुन्छ- ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, क्रान्तिकारी कुरा गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने बित्तिकै क्रान्तिको आदर्शबाट च्यूत भएर दक्षिणपन्थीको सेवामा सर्मपित गरिहाल्ने । उग्रताको कुरा गर्नेहरू अन्तिममा आएर दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजले भन्ने गरेका थिए । अग्रजले भनेका कुरा आज सही सावित भएको छ । माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहालको जीवनमा पनि त्यही देखियो । माधव नेपाललाई हामीले तीन कार्यकाल पार्टीको प्रमुखको रुपमा जिम्मेवारी सुम्प्यौं, उहाँलाई नेता मान्यौं । उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो ।’
दाहाल र नेपालले कांग्रेसलाई नेता बनाएर दक्षिणपन्थी अवसरवादमा लागेको पोखरेलको आरोप थियो । ‘दाहाल र माधव नेपाल कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लाग्नुभाछ। दक्षिणपन्थी अवसरवाद भनेको यही हो ।’
महासचिव पोखरेलले एमालेलाई आगामी निर्वाचनमा तिनै तहमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको पनि बताउनुभयो ।







प्रतिक्रिया