ताप्लेजुड – ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको प्रथम अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ । सोमबार भएको फाइनलमा फुङ्लिङ नगरपालिकालाई सोझो सेटमा हराउँदै पाथीभरा याङ्वरकले उपाधि जितेको हो ।
उपाधि विजेता पाथीभरा याङ्वरक गाउँपालिकाले २५–१४, २५–१४ र २५–२० को सेटमा फुङ्लिङ नगरपालिकालाई पराजित गरेको थियो । उपाधि जितसँगै पाथीभरा याङ्वरकले १६० तोला चाँदी जडित तीनबर्षे रनिङ ट्रफीसहित तीन लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले एक लाख ५० हजार रुपियाँ नगदमा चित्त बुझाउनु परेको छ ।
यस्तै प्रतियोगितामा तृतीय र चौथो स्थानमा पुग्न सफल सिदिङ्वा गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाले सान्तवनास्वरुप ३५–३५ हजार रुपियाँ नगद पाएका छन् । भलिबल प्रतियोगिता मङ्सिर २४ गते शुक्रबारदेखि गाउँपालिका केन्द्र साँघुमा आयोजना गरिएको थियो ।
उक्त प्रतियोगितामा आयोजकसहित जिल्लाका नौ वटै स्थानीय तहले सहभागिता जनाएका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्बाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया