काठमाडौं- कांग्रेस सभापतिका लागि भएको निर्वाचनमा कुनै उम्मेदवारले पनि ५१ प्रतिशत मत प्राप्त गर्नुभएन । कांग्रेस विधानअनुसार जीतका लागि कम्तिमा ५१ प्रतिशत मत चाहिन्छ ।
पहिलो चरणमा भएको निर्वाचनमा वर्तमान सभापति शेरबहादुर देउवा अगाडि रहे पनि जीतका लागि पर्याप्त मत पाउनुभएन । विधानअनुसार अब पुनः मतदान हुन्छ । अबको अवस्था के रहला ? पत्रकार भोजराज भाटको विश्लेषण यस्तो छ-
….
शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापतिमा जित्न २३४० मत चाहिन्थ्यो, तर ८२ मत पुगेन, २२५८ मात्रै ल्याउनुभयो ।
निकटतम् प्रतिद्वन्द्वी शेखर कोइराला (१७२९)भन्दा ५२९ मत बढी पाउनुभयो । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ तथा कल्याण्ड गुरुङको २० मत मात्र आयो । बदर मत ७७ । यो समिकरणमा सभापति जित्न देउवा सबैभन्दा कम्फर्ट जोनमा देखिनु हुन्छ । उहाँले प्रकाशमान सिंह, विमलेन्द्र निधिमध्ये एक समूहलाई मिलाए पनि सजिलै जित्ने देखिन्छ । जबकि, शेखर कोइरालाले देउवा इतरका सबै प्यानललाई मिलाउनुपर्ने बाध्यता छ । जित्नका लागि कोइरालाले ६११ मत थप्नुपर्ने बाध्यता छ, जुन त्यति सहज छैन ।
पछिल्लो समय देउवाप्रति निधि ज्यादै छुद्र भाषामा प्रस्तुत भइरहनु भएको छ । ‘एनी हाऊ देउवा हराऊ’ भन्ने उद्देश्य निधिले बोकेको देखिन्छ । यद्यपि, निधिले जति भोट ल्याउनुभयो, त्यो पूर्ववत देउवा प्यानलकै भोट पनि हो, त्यो सबै भोट कोइरालालाई जान्छ भन्ने छैन । प्रकाशमानले जे-जति भोट पाउनुभयो, त्यसमा देउवापक्षीय नेवार प्रतिनिधिले पनि भोट हालेका छन् । अब त्यो भोट सत प्रतिशत कोइरालालाई नै जाने देखिदैन । यस अर्थमा शेरबहादुर देउवा शेखर कोइरालाभन्दा धेरै कम्फर्ट जोनमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । त्यो भन्दैमा राजनीतिलाई सधै गणितीय हिसाब राखेर मुभ गरियो भने देउवाका लागि प्रतिघातक हुनसक्छ ।
यदि तपाई जित्न चाहनुहुन्छ भने तपाईले जोखिम मोल्नैपर्छ तर त्यो जोखिम दुरगामी होस्, देश र जनताको हितमा पनि होस् ।







प्रतिक्रिया