अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठूला मान्छेहरू सरसर्ती भित्र छिरे, बिरामी छु भन्दै हात जोड्दा पनि भित्र जान दिएन : धनमन्तीदेवी

ठूला मान्छेहरू सरसर्ती भित्र छिरे, बिरामी छु भन्दै हात जोड्दा पनि भित्र जान दिएन : धनमन्तीदेवी


काठमाडौं – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा प्रतिनिधि हुन पाउँदा सर्लाहीकी ६० वर्षीया धनमन्तीदेवी यादवको मनमा खुसीको सीमा नै थिएन । उनी २४ मंसिरको बिहानै काठमाडौं आइपुगिन् ।

पहिलो चरणको मतदान पनि साढे ५ घण्टा लाइनमा बसेर करिब ५० मिनेट लगाएर गरिन् । तर, पहिलो चरणको मतदानबाट सभापति टुङ्गिएन । दोस्रो चरणको मतदान हुने भयो । म‌ंगलबार दिउँसो ३ बजेदेखि मतदान हुने भनेपछि उनले अघिल्लो दिन साढे पाँच घण्टा लाइनमा बसेको सम्झिन् । अनि छिट्टै गरी लाइनमा बस्न भनेर सवा १ बजे सभागृह आइपुगिन् । तर, उनलाई धेरैले उछिनिसकेका थिए ।

साढे डेढ घण्टा लाइनमा बसिन्, तर मतदान गर्ने पालो त परको कुरा सभागृहको मुख्य प्रवेशद्वारबाट भित्र छिर्न समेत पाइनन् । लाइनमा बस्दाबस्दै उनलाई एक्कासि टाउको दुख्यो, चक्कर लाग्यो । उनी ढलिन् ।

लाइनमा बस्दाबस्दै ढलेँ । त्यसपछि पानी खाएँ अनि एकछिन बसेँ । अलिक सन्चो भएजस्तो भयो, उनी भन्छिन् । उनी मधुमेह र मुटु रोगबाट पीडित रहिछन् । त्यसैले भिडभाडमा लामो समयसम्म उभिँदा सन्चो हुन्न । बिरामी भए पनि उनको मन मतदान नगरी फर्कन मानेन ।

पहिल्यैदेखि रोगी छु । आज लाइनमा ढलेपछि बिरामी हुँ भन्दै लाइन नबसी भित्र छिर्न खोजेँ । प्रहरीहरूलाई हात जोडेँ । तर, हाम्रो कुरा कसले सुन्ने ? उनले भनिन् ।

बिरामी हुँ भनेर पटकपटक उनले सुरक्षाकर्मीहरूलाई भित्र छिर्न दिन अनुरोध गरे पनि छिर्न पाइनन् । त्यसपछि उनी दिक्क हुँदै सुरक्षाकर्मीहरूकै आडमा चिसो भुइँमा थचक्क बसिन् । उनी त्यहीँ बसिरहँदा थुप्रै भीभीआईपीहरू सरसर्ती भित्र छिरे । तर, उनी छिर्न पाइनन् । अनि उनको मन कुँडियो । चित्त दुख्यो ।

ठूला मान्छेलाई सजिलै भित्र छिर्न दिने, लाइन बस्न नपर्ने । बिरामीलाई भने भित्र छिर्न दिनुस् भनेर हात जोड्दा पनि नदिनेझ, उनी दु:ख मान्दै भन्छिन् ।