काठमाडौं – नेकपा एमाले संसदीय दलको सचेतक शान्ता चौधरीले माधवकुमार नेपालसहित १४ जनालाई कारबाही नगरेसम्म संसद अवरोध गर्ने बताउनुभएको छ ।
सचेतक चौधरीले नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई कारबाही गरेका सांसदको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिनु आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको बताउनुभएको हो ।
आज मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा उहाँले सभामुख सापकोटाले संसदीय दलले कारबाही गरेका कुनै पार्टीका सांसदहरुको सूचना २४ घण्टा नबित्दै जारी गर्ने तर आफ्नो दलको भने अझै जारी नगरेको भन्दै आपत्ति जनाउनुभयो ।
सचेतक चौधरी भन्नुहुन्छ, ‘सरकार र सभामुखलाई हामीले धेरै पटक संसद अवरुद्ध गरिरहँदा ध्यानाकर्षण पनि गराएका छौं । नेकपा एमालेको संसदीय दलले कारबाही गरेका सांसदहरुलाई सभामुखले संसद भवन भित्र प्रवेश गराइरहनुभएको छ, पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरु गैरकानूनी हुन् ? सभामुखले आफ्नो खुशीले मनपरी संसद चलाई रहनुभएको छ । कसैलाई २४ घण्टा पनि नबित्दै सूचना जारी गर्नुहुन्छ भने कसैलाई आजको मितिसम्म पनि कारबाहीको सूचना निकाल्नु भएको छैन । त्यसकारण संसद अवरोध गर्न हाम्रो बाध्यता हो, रहर होइन ।’
नेकपा एमालेले संसदीय दलबाट निष्काशन परेका माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।







प्रतिक्रिया