अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदाधिकारीविनै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी घोषणा

पदाधिकारीविनै माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटी घोषणा


धनगढी – नेकपा माओवादी केन्द्रले चार दिन लगाएर प्रदेश कमिटी घोषणा गरेको छ । केन्द्रले प्रदेशमा २१९ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । सो कमिटिको पहिलो बैठकले प्रदेश पदाधिकारी घोषणा गर्नेछ ।

कमिटी निर्माण गर्दा प्रदेशका प्रत्येक वडाबाट १-१ जना महिला, दलित, पिछडिएको वर्गलाई समेटिएको माओवादी केन्द्र सुदूरपशिचम प्रदेश इन्चार्ज खगराज भट्टले बताउनुभयो । हाललाई २१९ सदस्यीय कमिटी निर्माण गरिएकोमा कमिटीको पहिलो बैठकबाट चार जना मनोनयन गर्दै २२३ सदस्यीय कमिटी निर्माण गरिने इन्चार्ज भट्टले बताउनुभयो ।

कमिटीको पहिलो बैठकबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष गरी नौ जना पदाधिकारी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि धेरै जना आकांक्षी हुँदा माओवादी केन्द्रलाई अध्यक्ष चयनमा भने सकस देखिएको छ । केन्द्रले कैलालीका हरि चौधरीको नाममा सहमति गर्ने आन्तरिक योजना बनाएको भएपछि अन्य आकांक्षीले उनलाई न स्वीकार्दा समस्या भएको बुझिएको छ ।

प्रदेश अध्यक्षका लागि निवर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज वीरमान चौधरी, नेपबहादुर चौधरी, बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, प्रदेश कमिटी सदस्य हरि चौधरी, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले अध्यक्षमा दाबी गर्दै आएका छन् ।