झापा – इलामको कन्याममा पिकनिक खाएर इटहरी तर्फ गइरहेको बसले पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका वडानम्बर ७ दुर्गापुरमा मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
इटहरी तर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे इलाम रोङ गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु पश्चिमबाट पूर्वतर्फ में ७ प २८४६ नम्बरको मोटरसाइकलमा सवार थिए ।
तीव्र गतिको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । प्रहरीले बस चालक इलाम चुलाचुली गाउँपालिका वडा नम्बर २ बस्ने सरोज ढकाललाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले बसलाई समेत नियन्त्रणमा लिएको छ ।
धनगढी काकडभिट्टा रुटमा चल्ने सो बस पिकनिकका लागि यात्रु लिएर इलामको कन्याम गएको ट्राफिक प्रहरी पोष्टमा सुरुङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले जानकारी दिनुभयो ।







प्रतिक्रिया