काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्रसँगको ५ बुँदे सहमति प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
बुधबार पार्टीका मनोनीत केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष दाहालबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको दाबी गर्नुभएको थियो । ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’
दाहालले ओलीलाई उक्त ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न वा प्रमाणित गर्न नसके जनतासँग माफी माग्न पनि चुनौती दिनुभएको छ । दाहालले अगाडि भनेका छन्, ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
कुनै सेयरकारोबारीले चन्दा नदिएपछि बजार ध्वस्त पारिदिएको भन्ने ओलीको आरोपलाई पनि दाहालले अस्वीकार गर्नुभएको छ । ‘मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ विज्ञप्तीमा भनिएको छ, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म सेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’








प्रतिक्रिया