अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा जलेर तीनको मृत्यु

सर्लाहीमा जलेर तीनको मृत्यु


सर्लाही- सर्लाहीमा जलेर तीन जनाको मृत्यु भएको छ ।

परालले बनेको घरमा गए राति ९:१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धीको जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फुसको घरमा जाडोबाट बच्न परालको ओछ्यानमा सुतेको अवस्थामा अचानक आगलागी हुँदा मृतक दुवै बालिकाको ६० देखि ७० प्रतिशत शरीर जलेको थियो । आगोले जलेर जोगी महरा आफैँ र उनकी पाँच वर्षीया छोरी सुधा सामान्य घाइते भएका छन् । आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सरसमान समेत जलेर नष्ट भएका छन् ।

यसैगरी सर्लाही सदरमुकाम मलङ्गवा–६ खुटौनामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । आगोले जलेर गम्भीर घाइते भएका ७० वर्षीय नसिर खाँको गए राति जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

अत्यधिक मदिरा सेवन गरेका नसिर घुर ताप्ने समयमा शरीरमा आगो लागेको मृतककी पत्नी मदिना खातुनले जानकारी दिइन् । जाडो बढेसँगै सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धि भएको छ ।