अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘गाउँ फर्क अभियान’सहित एमाले नेताहरु काठमाडौं छाड्दै

‘गाउँ फर्क अभियान’सहित एमाले नेताहरु काठमाडौं छाड्दै


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकबाट विभिन्न जिम्मेवारी पाएपछि नेताहरु आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । खासगरी भूगोलको जिम्मेवारी पाएका प्रदेश इन्चार्ज देखि केन्द्रीय सदस्यसम्म आफ्नो कार्यक्षेत्रमा पुगेर काम थालेका छन् ।

पुस २३ गते भित्र जिल्ला अधिवेशन सक्नुपर्ने, माघ पहिलो साता प्रदेश अधिवेशन सक्नुपर्ने र स्थानीय तहको निर्वाचनमा पार्टीलाई आफ्नो भूगोलबाट जिताउने जिम्मेवारी लिएर नेताहरु गाउँ फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाटै जिल्ला र गाउँ केन्द्रित हुन निर्देशन दिनुभएको थियो ।

कतिपय जिल्ला इन्चार्जहरुले जिल्ला पार्टी कमिटीका बैठकहरु आयोजना गरिसकेका छन् । पहिलो पटक झापाको इन्चार्ज भएर जानु भएका अग्नि खरेलले जिल्ला सचिवालयको बैठक राखिसक्नुभएको छ । पार्टीकी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले पनि प्रदेश सचिवालयको बैठक राखिसक्नु भएको छ ।

लमजुङमा रहनु भएका एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ आफू जस्तै अरु नेता पनि भूगोल फर्किएको बताउनुहुन्छ । ‘जिल्ला अधिवेशनको तयारी, प्रदेश अधिवेशनको तयारी र महाधिवेशनको सन्देश लिएर सबै नेताहरु जिल्ला र गाउँ फर्किएका छन्,’ गुरुङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘महाधिवेशनले दिएको एकताको सन्देशले पार्टी कार्यकर्तालाई उत्साहित बनाएर आउने निर्वाचन जित्ने कार्यभार एमालेका सबै नेताहरुमा छ ।’

फाइल तस्बिर

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाटै जिल्ला र गाउँ केन्द्रित हुन निर्देशन दिनुभएको थियो ।

स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज शेरबहादुर तामाङले इन्चार्जको जिम्मेवारी लिएपछि जिल्ला पुगेर फर्किनु भएको छ । जिल्लादेखि वडा र टोल तहसम्म पार्टी सदस्यता विस्तार गरेर एमालेमा आम जनतालाई संगठित गर्नु पार्टीको कार्यभार भएको तामाङ बताउनुुहुन्छ । ‘अबको कम्तीमा एक वर्षसम्म भूगोल केन्द्रित काम हुन्छन् । यस बीचमा पार्टीका जिल्ला, प्रदेश अधिवेशन र तीनै तहका निर्वाचन हुन्छन्,’ तामाङ भन्नुहुन्छ, ‘ती निर्वाचनमा पहिलो पार्टी बनाएर फर्किने जिम्मा भूगोलको जिम्मेवारी पाएका नेताहरुलाई छ । त्यसकारण एक दिन पनि ढिलो नगरी हामी जनताको माझमा पुगेका र्छौं ।’

कतिपय जिल्लामा इन्चार्जको जिम्मेवारी पाएका नयाँ नेताहरुले जिल्लाका नेताहरुसँग घुलमिल हुने र रिपोर्टिङ लिने काम गरिरहेका छन् ।