काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ ।
१३औं महाधिवेशनमा कृष्ण सिटौलाको टीमबाट महामन्त्रीमा असफल हुनुभएका थापा १४औं महाधिवेशनमा शेखर कोइरालाको टीमबाट भारी मतले विजयी हुनुभएको हो ।
थापाको संक्षिप्त जीवनी
युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी थापाका छोरा थापाले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँका दुई छोरी छन् ।
२०४६ सालको जनआन्दोलनदेखि विद्यार्थीकालमै राजनीति सुरु गर्नुभएका थापा नेपाल विद्यार्थी संघमा आबद्ध हुँदै २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित हुनुभयो । २०५३ मा स्ववियु सचिव र २०५५ मा स्ववियु सभापति बन्नुभयो । २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष बन्नुभयो। २०५९-२०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री हुनुभयो । जनआन्दोलन २०६२/०६३ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनविरुद्धको आन्दोलनमा आक्रामक भाषण गरेर चर्चामा आएका थापा १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेर तेस्रो स्थान हासिल गरे पनि सम्मानजनक मत प्राप्त गरेका थापालाई महाधिवेशन सकिए लगत्तै केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो ।
उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक र २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट संविधानसभामा विजयी हुनुभयो । २०७३ छोटो कार्यकालका लागि स्वास्थ्य मन्त्री हुनुभएका थापाले स्वास्थ्य क्षेत्रमा सुधारका थुप्रै प्रयास गर्नुभएको थियो । २०७१ मा उहाँ संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गर्नुभएको थियो । दुईपटक राजद्रोहको मुद्दा खेपेका थापा पटक पटक जेल पर्नुभएको थियो । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थापा २०७४ सालको चुनावमा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।
संविधान कार्यान्वयन, जनजीविकाका सवालमा संसदमा निरन्तर आवाज उठाउने र सत्तालाई जहिल्यै घच्घच्याउने काम उहाँले गर्दै आउनुभएका छन् ।







प्रतिक्रिया