अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा सभापति देउवा पक्षको वर्चश्व

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा सभापति देउवा पक्षको वर्चश्व


काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ। उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षको ६ जना निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।

सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।

बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार बिहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार साँझ प्राप्त मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खस-आर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भएका छन् । यी सबै देउवा समूहका हुन् । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित भएका छन् । कोइराला खेमाका पाण्डेले देउवा प्यालनका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सहमहामन्त्रीको मतगणना सकिएसँगै अब निर्वाचन समितिको बैठक बसेर आजै राति केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ ।