जुम्ला – कर्णाली राजमार्ग दैलेख सडक खण्डको केही भाग कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भइरहेको छ । कर्णाली राजमार्गको दैलेख सडक खण्डको झन्डै १० किलोमिटर सडक कालोपत्रे भएको छैन ।
कर्णाली राजमार्गको सडकको अवस्था ठीक नहुँदा दैनिक उपभोग्य वस्तु ढुवानी तथा आपूर्तिमा समस्या भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले १३२ किलोमिटर हेर्ने जिम्मा पाएको छ । बाँकी १०० किलोमिटर जुम्लाले हेर्दै आएको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माले बताउनुभयो ।
वैशाखसम्म १० किलोमिटर कच्ची सडक ओटासिल हुने उहाँले बताउनुभयो । ‘शर्माले भने, ७३ किलोमिटर सडक तत्काल स्तरोन्तीको काम हुँदैन । समयमै काम नगर्ने ठेकेदारका कारण केही ढिला भएको हो,’ ईन्जिनियर शर्माले भन्नुभयो ।
कर्णाली राजमार्ग कतिपय स्थानमा वर्षायामको पहिरोले पुरिएको छ । सडक पुनःनिर्माण गर्ने बहानामा वर्षै मोटो रकम खर्च हुने गरेको छ । तर, सडकको अवस्था फेरिएको छैन । कर्णाली राजमार्गको सुर्खेतदेखि गमगडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ ।
पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । यो राजमार्गको ट्र्याक खुलेको दशक बढी भइसकेको छ । तर, हालसम्म पनि यो राजमार्गमा ढुक्कसाथ यात्रा गर्ने बाटो बनेको छैन ।
पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नतिका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ । सडक डिभिजन कार्यालय जुम्लाले प्रत्येक वर्ष दर्जनौं ठाउँमा पहिरो गए पनि पन्छाउने काम मात्रै गर्दै आएको छ । सडक स्तरोन्तीको काम भने खासै भएको देखिँदैन ।
मृत्यु मार्गका नाममा परिचित कर्णाली राजमार्गमा अझै पनि दुर्घटनामा कमी आएको पाइँदैन । कर्णालीका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । साँघुरो सडक भएका कारण सवारी ओहोरदोहोर गर्न कठिन हुने गरेको ट्रक चालक जनक सिंहले बताए । उहाँले भन्नुभयो, ‘कर्णाली राजमार्ग उसै पनि जोखिम छ ।’
सडकको स्तरोन्ती नहुँदा जोखिमपूर्ण अवस्थामा गाडी गुडाउनुपर्ने बाध्यता छ । ‘अझै पनि सडकको अवस्था राम्रो छैन, गाडी एक आपसमा पास गर्ने ठाउँ साँघुरो छ । कतिबेला नदिनमा खस्छ थाहै नहुने स्थिति छ,’ उहाँले भन्नुभयो ।
स्तरोन्नतिका नाममा रकम सक्ने काम मात्रै
मृत्यु मार्गका नाममा परिचित कर्णाली राजमार्गमा दुई वर्ष यता सवारी दुर्घटनाका घटना बढ्न थालेका छन् । त्यसैमाथि जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ। जुम्लादेखि ९३ किलोमिटरको नाग्म गमगडी सडक खण्डमा २०७७/७८मा मात्रै २१ करोड ७८ लाख रकम सकिएको सडक डिभिजन कार्यालय जुम्लाका ईन्जियर सन्तोष भण्डारीले बताउनुभयो । दुई वर्ष यता मात्रै गरेको नाग्म गमगडी सडकखण्ड २१ करोड ७८ लाख रुपैयाँ खर्च भइसकेको छ । बजेट अनुसार स्तरोन्नति शून्य छ ।
२० सिटको क्षमताको गाडीमा ५० जना यात्रु
कर्णाली राजमार्गमा दैनिक सवारी चापले पनि सडकको अवस्था बिग्रँदै गएको छ । जुम्लाबाट सुर्खेत, नेपालगन्ज जाने लामो दूरीका सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका छन् ।
सवारी साधनले भार थाम्न नसक्ने गरी यात्रु बोक्ने गाडीलाई कुनै कारबाही गरेको देखिँदैन । एक जना सवारी चालकले नाम नलेख्ने सर्तमा गाडीमा बढी सवारी राखे पनि नराखे पनि एक चेकिङ पोस्टमा ५० रुपैयाँ दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया