बुटवल- एक वर्षदेखि अलपत्र बुटवलको ६ लेन सडक विस्तारको काम सूचारु हुने भएको छ । सडक विभागले भेरिएसन अर्डर स्वीकृत गरेसँगै अब निर्माणको बाटो खुलेको हो ।
सडकको भेरिएन अर्डर स्वीकृत नभएसम्म काम नगर्ने भन्दै निर्माण कम्पनीले काम रोकेको थियो । रुपन्देहीको बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएको भत्काएको करिब एक वर्ष बित्दा पनि सडक नबनेपछि यात्रुले सास्ती पाएका थिए ।
तर, अब भने निर्माणको काम अगाडि बढ्ने बाटो खुलेको बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए ।
यसअघि घर भत्काएको ६ महिनासम्म ठेकेदार कम्पनीले सडक निर्माणकाे कामलाई अगाडि बढाउनुको साटो बेपत्ता भयो भने त्यसयताको ६ महिनामा वर्ष लगायत विभिन्न बहानामा काम अगाडि बढाएको थिएन । तर पछिल्लो समय भेरिएसन अर्डर नभएपछि बजेट निकासामा समस्या हुन सक्ने भन्दै ठेकेदार कम्पनीले काम रोकेको थियो ।
राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडकखण्ड धुलो र खाल्डाखुल्डीले हिँड्नै नसकिने अवस्थामा छ । यो सडक निर्माणको ठेक्का चार वर्षअघि नै द कञ्चनजंघा विरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले भेरिएसन अर्डर स्वीकृत भएकाले अब काम सुरु हुने बताए । ‘बिगतमा भने कोभिडका कारण सडक बिस्तारको काममा ढिलाई हुन पुगेको हो, तर अहिले भेरिएसन अर्डर नहुँदा काम रोकिएको थियो, अव निरन्तररुपमा अगाडि बढ्छ,’ उनले भने ।
आयोजना प्रमुख मरासिनीले अझै पनि सडक क्षेत्राधिकारभित्र पर्ने १०-१२ वटा घरको केही भाग भत्काउनुपर्ने अवस्था रहेको र यसले पनि निर्माणमा ढिलाई भैरहेको बताए । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम लामो समय रोकिएको थियो । पछिल्लो पटक सडक विस्तार आयोजनाले गत वर्षको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घर टहरा भत्काइएको थियो ।
पछिल्लो रिट निवेदनमा गत वर्ष ९ असारमा दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गएको वर्ष पुस २० गते गरेपछि व्यापारिक मार्ग बिस्तार आयोजनालाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा सबै घर भत्काइसकिएको छ । सडक निर्माणको जिम्मा पाएको कन्जनजंघा बिरुवा जेभिले पेश्कीस्वरुप ८ करोड ४० लाख रुपैयाँ लगिसकेको छ । उसले ४७ करोड २७ लाख आठ हजार २८७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको म्याद आगामी असारसम्म रहेको छ ।







प्रतिक्रिया