लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका-७ भिमसेनस्थानस्थित सुरेश श्रेष्ठको घरमा शुक्रबार राति साढे ९ बजे हार जितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख १९ हजार २५० रुपैयाँसहित १६ थान कौडासमेत बरामद गरेको छ।
पक्राउ पर्नेमा बेसीशहर नगरपालिकाका चार जना, सुन्दरबाजर नगरपालिकाका एक जना, मस्र्याङ्दी गाउँपालिकाका एक जना, तनहुँका एक जना र काभ्रेका एक जना रहेका छन् । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया