काठमाडौं– केन्द्रीय कमिटीमा एक सचिव सहित एक तिहाइ महिलालाई निर्वाचित गरेको नेकपा एमालेले ११ जिल्लाका ईञ्चार्ज महिला नेतृहरुलाई दिएको छ । पहिलोपटक कुनै पनि राजनीतिक दलको जिल्ला ईञ्चार्जमा महिलाहरुलाई जिम्मेवारी दिने एमाले पहिलो दल बनेको छ ।
ईञ्चार्जको जिम्मेवारी पाएका नेतृहरुले विगतमा भन्दा पार्टीको स्थिति थप मजबुत बनाउन आफूहरु लागीपर्ने बताएका छन् । एमालेको दसौं महाधिवेशनले नै महिलाहरु नेतृत्वका लागि सक्षम छन् भन्ने सन्देश प्रवाह गरेको र जिल्ला ईञ्चार्जको जिम्मेवारी ११ जना महिलालाई दिएबाट एमालेमा महिलाको स्थान थप सुनिश्चित हुँदै गएको स्पष्ट भएको देखिन्छ ।
उदयपुर जिल्ला ईञ्चार्ज मञ्जु चौधरी आफूले जिल्लाको पार्टीलाई बलियो बनाउन अथक मेहनत गर्ने बताउनुहुन्छ । ‘हामीलाई चनौतिसँगै अवसर पनि आएको छ,’ पूर्वमन्त्री समेत रहनु भएकी चौधरी भन्नुहुन्छ ‘पार्टी अध्यक्ष र केन्द्रीय कमिटीले दिएको पार्टी ईञ्चार्जसीपको जिम्मेवारीलाई म आगामी निर्वाचनमा उदयपुरमा एमालेलाई पहिलो पार्टी बनाएर देखाउछु ।’
महोत्तरी जिल्ला ईञ्चार्ज कमला कुमारी महतो पार्टीले दिएको जिल्ला ईञ्चार्जको जिम्मेवारीले आफ्नो आत्मबल बढेको बताउनुहुन्छ । ‘म सांसद भइसकेकी महिला हुँ । तर समग्र जिल्लाको पार्टी हाँक्ने जिम्मेवारी मैले पाएपछि कामलाई गति दिने उत्साह बढेको छ,’ महतोले नेपाली बहस डटकम सँग भन्नुभयो ‘मधेसमा महिलाको सामाजिक अवस्था कमजोर रहेको अवस्थामा ईञ्चार्जको जिम्मेवारी पाउँदा थुप्रै महिलालाई राजनीतिमा आउने आत्मबल बढेको छ ।’
एमालेको बिधानले जिल्ला ईञ्चार्जलाई जिल्लाका सबै पार्टी कमिटीको अवस्था जानकारी लिने र उपल्लो कमिटीमा रिर्पोटिङ गर्ने, जिल्ला कमिटी र केन्द्रको समन्वय गर्ने जिम्मेवारी दिएको छ ।
| मञ्जु चौधरी | उदयपुर |
| गौरी ओली | डोटी |
| निरु पाल | कञ्चनपुर |
| सुशीला नेपाल | ललितपुर |
| कमलादेवी महतो | महोत्तरी |
| तिर्था गौतम | रुकुम पश्चिम |
| बद्मी क्वारी बुढा (बोहोरा) | डोल्पा |
| बिन्दा ढुंगाना | नुवाकोट |
| विष्णुमाया बिक | तेह्रथुम |
| सरिता खनाल भूसाल | नवलपरासी |
| सीताकुमारी सुन्दास | स्याङ्जा |







प्रतिक्रिया