काठमाडौं– धेरैको अपेक्षा थियो एमाले ‘सहभागी नहुने’आजको सर्वदलीय बैठकले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०का बारेमा ठोस धारणा बनाउनेछ । त्यसपछि यो बिषय संसदमा दर्ता हुनेछ । तर सत्ता गठबन्धनमा यस बिषयमा कुरो नमिल्दा एमसीसीले सत्ता गठबन्धनको मात्र होइन त्यसको प्रमुख घटक माओवादीको आन्तरिक राजनीति पनि बिथोलिदिएको छ ।
बैठकमा माओवादीका अध्यक्ष प्रचण्डले केही संशोधन सहित एमसीसी पास गरौं भन्ने धारणा राख्नु भएको थियो । तर प्रचण्डको भनाइ प्रतिवाद गर्दै माओवादी कै नेता नारायणकाजी श्रेष्ठले एमसीसी अघि बढ्न नसक्ने अड्को थाप्नुभयो । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले केही बुँदा संशोधन गरेर पास गरौं भन्दा नारायणकाजीले आम नेपालीले एमसीसीलाई नकारात्मक रुपमा बुझेकाले यसलाई पास गर्ने तर्फ छलफल गर्नुको अर्थ नरहेको बताउनुभएको थियो ।

संसदको सबभन्दा ठूलो दल एमाले सहभागी नभएको सर्वदलीय बैठकमा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्दछ भन्ने पक्षमा रहे । तर बाबुराम कै पार्टीका नेता उपेन्द्र यादव एमसीसीलाई अहिले कै अवस्थामा पास गर्न नसकिने अडान राख्नुभएको छ ।
देउवाले एमसीसी देशको हितमा छ भनेर सबैलाई कन्भिन्स गरिरहँदा सत्ताको दोस्रो घटकका अध्यक्ष यादवले ‘देशको हितमा छैन बरु जनजनमा नकारात्मक प्रभाव छोडेको’ तर्क गर्नुभयो । तर यादव कै पार्टीका नेता बाबुराम भट्टराईले ‘एमसीसी देशको हितमा छ । संसदमा लैजाऊँ पास गराऊँ’ भन्दा यादव आवेशमा मात्रै आउनुभएन, भन्नुभयो– ‘पार्टी अध्यक्ष म हुँ मेरो धारणा आधिकारिक हो ।’ यता नेकपा (एस)का महासचिव बेदुराम भुसालले पनि उपेन्द्र र नारायणकाजी कै शैलिमा एमसीसी पास गर्न नसकिने धारणा राख्नुभएको थियो ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टका अनुसार पर्सी मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी दर्ता गर्ने तयारीका लागि बैठक बोलाइएको भए पनि आज त्यसबारे कुनै निर्णय भएन । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सत्तारुढ दलभित्रै एकमत नभएकाले थप छलफल आवश्यक रहेको’ प्रतिक्रिया दिनुभएको छ ।
नेमकिपा सांसद प्रेम सुवालले पनि गठबन्धनमै एमसीसीमा एकमत नभएकाले आफूहरुले थप पक्ष विपक्षमा खडा हुनुपर्ने अवस्था नै नआएको बताउनुभएको छ ।







प्रतिक्रिया