अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित


काठमाडौं – एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताउनुभयो ।

एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै उहाँले प्रतिपक्षी दल विनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाउनुभयो । उहाँले सदन खुलाउनेदेखि देशमा देखिएका अन्य समस्या समाधानमा सरकारले प्रतिपक्षी दलसँग किन वार्ता गर्दैन भन्दै प्रश्न गर्दै सदन चल्न नसक्ने बताउनुभयो ।

यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित् पक्षलाई रुलिङ गर्दै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गर्नुभयो । तर, एमाले सांसदहरूले उठेर मौन रुपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको व्यहोरा जानकारी गराउँदछु । माननीय सदस्यहरू अब अर्को बैठक अर्को सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’

अर्को बैठकको मिति नतोकिएकाले अब राष्ट्रिय सभाको बैठक कहिले बस्छ भन्ने निश्चित छैन ।