अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई महालक्ष्मी नगरपालिकाबीच ‘मितिनी’ सम्बन्ध विस्तारबारे छलफल

दुई महालक्ष्मी नगरपालिकाबीच ‘मितिनी’ सम्बन्ध विस्तारबारे छलफल


ललितपुर – महालक्ष्मी नगरपालिका ललितपुर र महालक्ष्मी नगरपालिका धनकुटाबीच भगिनी (मितिनी) सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका नगर प्रमुख पर्शुराम नेपालबीच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति गरेको छ । दुवै नगरपालिकाले कार्यपालिका बैठकबाट सम्बन्ध विस्तारबारे निर्णय गरेपछि द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम तय हुनेछ ।

दुवै नगरपालिकाको पहिलोपटक भगिनी सम्बन्ध विस्तारका लागि छलफल प्रारम्भ गरेका हुन् । नगर प्रमुख श्रेष्ठ र नेपालले सम्बन्ध विस्तारपछि एक अर्कामा भएका असल अभ्यास, प्रविधि तथा विभिन्न कार्यक्रम आदान प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले भगिनी सम्बन्ध विस्तारपछि एक अर्काले असल अभ्यास आदान प्रदान, विकास र समृद्धिका लागि सेतुको रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘नाम पनि मिलेकाले भगिनीसँगै मितिनी सम्बन्ध काम गर्दै अगाडि बढ्छौं,’ उहाँले भन्नुभयो, ‘सुख र दुःखमा हाम्रो साथ रहन्छ ।’

नगर प्रमुख नेपालले दुवै नगरपालिकाका नवीनतम् कार्यलाई अनुसरण गर्ने, सिकाइको आदान प्रदान गर्ने र नगरको विकासका लागि एक अर्कालाई परिपूरकका रुपमा स्थापित गरिने बताउनुभयो । उहाँले महालक्ष्मी नगरपालिका, ललितपुरसँगको सम्बन्ध विकासले आफूहरु उत्साहित भएको पनि बताउनुभयो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका ललितपुरका उपप्रमुख निर्मला थापा, नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का निवर्तमान अध्यक्ष विक्रम लुइँटेल, विज्ञापन बोर्डका सदस्य चेतन अधिकारी, नेपाल टेलिभिजन अनलाइनका सम्पादक शेखर अधिकारीलगायतको उपस्थिति थियो ।