अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीमा विप्लव निकटको अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी

अर्घाखाँचीमा विप्लव निकटको अखिल क्रान्तिकारीद्वारा विद्यालयमा तालाबन्दी


अर्घाखाँची – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्घाखाँची जिल्लाको एक विद्यालयमा तालाबन्दी गरेको छ ।

विद्यार्थी र आफूहरूसँग विद्यालयले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै क्रान्तिकारीले भूमिकास्थान नगरपालिका-१ पिपलनेटामा रहेको विश्व माध्यमिक विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।

विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको र हिसाबकिताब पारदर्शी नगरेको भन्दै करीब एक वर्षअघि अखिल क्रान्तिकारीकै नेतृत्वमा विद्यार्थी आन्दोलित भएका थिए । केही दिनमा हिसाबकिताब सार्वजनिक गर्ने सहमतिमा त्यसबेला विद्यार्थी आन्दोलन रोकिएको थियो ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष बाबुराम एसकेको नेतृत्वमा विद्यालय पुगेका उनीहरूले आज दिउसो क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् ।

तत्कालीन अवस्थामा १५ दिनभित्र हिसाबकिताब सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको भए पनि विभिन्न समस्याका कारण सार्वजनिक गर्न नसकिएको विद्यालयले जानकारी दिएको छ ।

‘उहाँहरूको मागको विषयमा हामी सकारात्मक थियौं र छौं,’ विद्यालयका प्रधानाध्यापक सालिकराम आचार्यले भन्नुभयो, ‘कोभिडको समस्या, विद्यालय व्यवस्थापन समिति नहुनु जस्ता कारण असहजता भइरहेको छ ।’

यता क्रान्तिकारीले भने विगतको सहमति कार्यान्वयन, लिइएको शुल्क फिर्ता र हिसाबकिताब पारदर्शी गर्न माग गरिरहेको छ । पूर्व प्रधानाध्यापक जुमलाल खनालको कार्यकालमा अनियमितता भएको भन्दै क्रान्तिकारीले हिसाब सार्वजनिक गर्न माग गरिरहेको छ । आफ्ना मागको बेवास्ता गरिए जे पनि हुनसक्ने चेतावनी समेत क्रान्तिकारीले दिएको छ ।