अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र माधव नेपालद्वारा कर्मचारीबाट स्थानीय तह चलाउने प्रस्ताव

प्रचण्ड र माधव नेपालद्वारा कर्मचारीबाट स्थानीय तह चलाउने प्रस्ताव

स्थानीय तहको निर्वाचन गर्ने बारेमा प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल


काठमाडौं– स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने बारेमा सरकारले तयारी थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग बैठक राख्नुभएको छ । निर्वाचन आयोगका एक आयुक्तका अनुसार बैठकमा गृह, अर्थ, सञ्चार र कानून मन्त्री पनि सहभागी हुनेछन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने हुँदा २०७९ वैशाख २० गतेको मिति प्रस्ताव गर्ने भएको छ । ‘सुरक्षा व्यवस्थापन आदिका कारण दुई चरणमा गर्ने प्रस्ताव आएमा वैशाख १३ र २० गतेलाई प्रस्ताव गर्छौं’ ति पदाधिकारीले यो बेलालाई बताए ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज बालुवाटारमा प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीको छलफलको समय तय भएको बताउनुभयो ।

गठबन्धन दलहरुमा पहिला संघीय संसदको निर्वाचन कि स्थानीय तहको भन्नेमा मतान्तर छ । वैशाख भित्रै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने कानुनी बाध्यताका कारण संघीय संसदको ‘अर्ली इलेक्सन’ नहुने अवस्थामा प्रधानमन्त्री देउवा स्थानीय तहको निर्वाचन समयमै गराउने पक्षमा हुनुहुन्छ । तर माओवादी र
नेकपा एस स्थानीय तहको म्याद गुजार्ने पक्षमा छन् । स्रोतका अनुसार अहिले नै निर्वाचन गर्दा एमालेकै पक्षमा माहोल आउने सम्भावना भएकोेले यो अवस्थालाई टार्न उनीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरिरहेका छन् । ‘अहिलेका स्थानीय तहको म्याद बैशाखमा सकिन्छ । त्यसपछि अध्यादेश ल्याएर छ महिना म्याद थप्न सकिन्छ तर अध्यादेश नल्याउने पक्षमा माओवादी र एस छन्,’ कांग्रेसका एक नेताले भने, ‘उहाँहरु स्थानीय तहमा रिक्तता सृजना गरेर आफू अनुकूलका कर्मचारीबाट वा दलीय संयन्त्र बनाएर छ महिना चलाउने अनुकूल वातावरण भएपछि निर्वाचन गराउने पक्षमा हुनुहुन्छ ।’

कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने बताउन थालेपछि प्रचण्ड र माधव नेपाल निर्वाचनबाट टाढिन खोजेको ती नेताको भनाइ छ । ‘प्रधानमन्त्री समयमै स्थानीय तहको निर्वाचन गराएर २०५९मा आफूलाई लागेको कलंक मेटाउने सोचाइमा हुनुहुन्छ’ काँग्रेसका ती नेताको भनाइ छ ।

महाधिवेशनबाट पुन सभापतिमा निर्वाचित भएपछि देउवाले गठबन्धन दलका नेतालाई दिने महत्व घटाएका छन् । गठबन्धन दलले आफूलाई छोडेमा सिधै संघीय निर्वाचन घोषणा गर्ने अन्य अवस्थामा एमालेको साथ लिएर सरकार चलाउने आत्मविश्वासमा देउवामा देखिन्छ । अर्कोतिर काँग्रेस भित्रैबाट माओवादी र एससँग चुनावी गठबन्धन गर्न नहुने दबाबमा देउवा भएकोले निर्वाचन सम्बन्धी निर्णय देउवाले आफ्नै विवेकमा गर्ने काँग्रेसबा नेताहरु बताउँछन् ।

वैशाखको निर्वाचनका लागि आगामी माघ ७ गतेसम्म सरकारले निर्णय गरिदिएमा आयोगले निर्वाचन सम्पन्न गर्न कुनै समस्या नुहने जनाएको छ ।