काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभएको छ ।
रेडियो नेपाल कर्मचारी युनियनको आठौँ अधिवेशन समारोहमा आज आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायीत्वमा समस्या देखिँदै गएको सङ्केत गर्दै एकातर्फ एमाले र अर्कोतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठिक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताउनुभयो ।
‘एउटा कोण नेकपा एमालेको छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने छ’, पोखरेलले भन्नुभयो, ‘अर्कोतर्फ संविधानप्रतिको एकनासको सहमती छैन, कानूनको विषयमा एक मत छैन, मुल्य मान्यतामा एकमत नभई पनि गठबन्धन बनेको छ।’ राष्ट्रिय राजनीतिको परिदृष्यलाई ठिक ढङ्गले बुझेर कुन ठाउँमा उभिने हो निर्णय गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
उहाँले राज्य संरचनाभित्र न्यायपालिकाका उद्देश्यअनुसार नीतिगत र कानूनी प्रवन्ध हुनुपर्नेमा जोड दिँदै उद्देश्य भाषणमा राम्रा हुने तर त्यसलाई बहन गर्ने साधन ठिक ढङ्गले नबन्दा नीति एकातिर जनता अर्कातिर भइरहेको बताउनुभयो । लामो इतिहास बोकेको रेडियो नेपालमा हुनुपर्ने प्रगति हुन सक्यो की सकेन भनेर हेर्नुपर्ने उहाँको धारणा थियो । उहाँले राष्ट्रिय सरोकारको मुद्दामा सचेत र सजक हुन पनि सुझाव दिनुभयो ।





प्रतिक्रिया