अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनाव अगाडिसम्म संसद चल्दैन : केपी ओली

चुनाव अगाडिसम्म संसद चल्दैन : केपी ओली


मोरङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिनुभएको छ ।

आज विराटनगरमा पुग्नुभएका अध्यक्ष ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताउनुभएको हो ।

आफूहरूले पार्टीबाट १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएकोले सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि आफूहरू नजाने ओलीले बताउनुभयो । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद सहभागी भई पछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् । नेकपा एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । ‘अर्ली इलेक्सन भए पनि नभए पनि इलेक्सन हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ ।’ सरकार ढालेर केही समय सूर्यमा ग्रहण लगाए पनि यो धेरै समय नरहने उहाँले बताउनुभयो ।

जसपाबाट निर्वाचित जहदा गाउँपालिका ७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुग्नुभएका हुन् । अध्यक्ष ओलीले एमालेको १०औं महाधिवेशन पछिका तीन महिना पार्टी प्रवेशको अभियान चलाउने बताउनुभएको थियो । यसअघि जनता समाजवादीको तर्फबाट वडा नं ४ का अध्यक्ष जयनरथ गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।