अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दशौं महाधिवेशनबाट अध्यक्ष भएकोमा पाँच उपमा सहित अध्यक्ष केपी ओलीलाई झापामा सम्मान (पूर्ण पाठ)

दशौं महाधिवेशनबाट अध्यक्ष भएकोमा पाँच उपमा सहित अध्यक्ष केपी ओलीलाई झापामा सम्मान (पूर्ण पाठ)


झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज उहाँको गृह जिल्ला झापामा दशौं महाधिवेशनमा अध्यक्ष निर्वाचित भएकोमा अभिनन्दन गरिएको छ ।

जिल्ला पार्टी कार्यलय झापाले आयोजना गरेको सम्मान कार्यक्रममा झापाबाट निर्वाचित अन्य स्थायी ,पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरिएको छ ।

जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मदन अधिकारीका नाममा दिएको उक्त सम्मान पत्रमा अध्यक्ष ओलीलाई झापाली सपूत, प्रखर राष्ट्रवादी राजनेता, लोकतन्त्रका महानायक, सुखी नेपाली, समृद्ध नेपालका स्वप्नद्रष्टा र आम नेपालीका अभिभावकको उपमा दिइएको छ ।

पूर्णपाठ

प्रिय झापाली सपुत !
पूजनीय पिता मोहनप्रसाद ओली र ममतामयी माता स्व. मधु ओलीको कोखबाट वि.सं. २००८ फागुन ११ गते तेह्रथुमको इवा–२ मा जन्मनु भई सानैमा अभिभावकसहित झापाको शरणामतीमा बसाई आउनु भएका तपाईँले सम्पूर्ण राजनीतिक शिक्षादीक्षा, सङ्घर्ष र कर्मस्थलको रुपमा झापाली माटोलाई प्रेम गर्नु भएको इतिहासप्रति आज सम्पूर्ण झापाली गौरव अनुभूति गरिरहेका छन् ।

प्रखर राष्ट्रबादी राजनेता !
लोकतन्त्र, दीगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आउनु भएका झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य एवम् नेकपा (एमाले)का अध्यक्ष क. केपी शर्मा ओली सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि पहिलो प्रधानमन्त्री निर्वाचित हुनु भयो ।

सुगौली सन्धिपछि गिरेको नेपाल राष्ट्रको स्वाभिमान पहिलो प्रधानमन्त्रीकालमै उचो भएको महसुस गर्दै तपाईँको कुशल नेतृत्वमा सम्पूर्ण नेपालीले सगरमाथा झैँ शिर उचो पारेर छिमेकी भारतको कठोर एवम् अन्यायपूर्ण आर्थिक नाकाबन्दीको सामना गरेका थिए । स्वाधीनताको लडाइँलाई विजयको शिखरमा पु¥याउन सफल हुनुभएको प्रखर राष्ट्रबादी राजनेता तपाइँको दोस्रो प्रधानमन्त्रीत्व कालमा नेपाल राष्ट्र«ले ‘सुखी नेपाली र समृद्ध नेपाल’को महायात्रा प्रारम्भ गरेको सर्वविदितै छ ।

मातृभूमि प्राणभन्दा प्यारो हुन्छ । नेपाली स्वाभिमानको रक्षा गर्दै तपाईको दोस्रो प्रधानमन्त्रीत्वकालमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भागसहित नेपालको नयाँ नक्सा जारी गर्नु भएको ऐतिहासिक गौरवको घटनाले तपाईलाई आम नेपालीले महान राष्ट्रबादी राजनेता एवम् नेपालको अभिभावकका रुपमा उच्च सम्मान प्रकट गरेका छन् ।

लोकतन्त्रका महानायक !
शान्तिपूर्ण सङ्घर्षबाटै आमूल परिवर्तन सम्भव हुने विचारमा दृढता व्यक्त गर्दै आउनु भएका तपाईँले नेपाली राजनीतिक इतिहासमा चर्चित झापा विद्रोहदेखि २०४६ र २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलन र २०७२ सालमा नेपालको संविधान निर्माणमा सफलतापूर्वक निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिकालाई आम नेपालीले सदैव स्मरण गरिरहने छन् ।

अढाई सय बर्षदेखिको एकात्मक तानाशाही शाह बंशीय राजतन्त्रात्मक शासन व्यवस्थालाई उखेलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली स्थापना गर्ने दौरानमा प्रकट भएका सबैखाले उग्रपन्थी चिन्तनलाई परास्त गर्दै लोकतन्त्रलाई रक्षा गर्न तपाईँले देखाउनु भएको बहुलबादप्रतिको निष्ठा, वैचारिक स्पष्टता र साहसिक अडानकै कारण दोस्रो संविधान सभाबाट नयाँ संविधान जारी हुन सकेको यथार्थ सवैका सामू छर्लङ्गै छ । यस पुनित कार्यका लागि हामी सम्पूर्ण झापाबासी गौरव गर्दछौं ।

सुखी नेपाली, समृद्ध नेपालका स्वप्नद्रष्टा !
शान्ति, संविधान र समृद्धि दिएर आम नेपालीको अभिभावकीय भूमिका पूरा गर्नु भएका तपाईँले नेपालको स्वाधीनता र नेपालीको स्वाभिमानको रक्षा गर्नुका साथै गरीवी, अभाव र पछौटेपनबाट युगौंदेखि गुज्रिदै आएको नेपाली समाजमा आर्थिक विकास र निर्माणको नयाँ युगको अनावरण गर्दै ‘सुखी नेपाली र समृद्ध नेपाल’को सपना साकार तुल्याउने दूरदर्शी कदम बढाउनुभयो ।

महाभूकम्पले ढलेको ऐतिहासिक धरहरा तपाईकै नेतृत्वमा उभिएको मात्र छैन, अब कहिल्यै नढल्ने गरी इन्जिनियरिङको नमुना बन्न सफल भएको छ । देशैभरि सडक कालोपत्रे भएका छन्, चार लेन र छ लेनका राजमार्ग बनिरहेका छन् । तपाईकै नेतृत्वमा अँध्यारो लोडसेडिङको अध्याय सँधैका लागि समाप्त भएर उज्यालोको युग सुरु भयो । ध्वस्त रानीपोखरी पुरानै लयमा निर्माण भयो । तुइन युगको अन्त्य भयो । देशैभर अस्पताल निर्माण भए । वृद्धावस्थाका बाआमाहरुले मासिक रु. ४ हजार भत्ता पाउन थालेका छन् । पूर्व पश्चिम रेलमार्गको जग बसाल्ने, उत्तरी मुलुक चीनसँग पारवहन मार्ग खोल्ने जस्ता अनगिन्ती समृद्धिका कार्यहरु सम्पन्न भएका छन् ।

आम नेपालीका अभिभावक !
प्रधानमन्त्रीको रुपमा दुई पटक निर्वाचित हुँदा नेपाली र नेपालको सर्वांगिण हितमा समर्पित भएको कारण त्यसबाट जलन र विचलित भएका देशी विदेशी तत्वहरुको गठबन्धनबाट तपाईलाई प्रधानमन्त्री पदबाट परमादेशमार्फत हटाएको भए तापनि जनादेशबाट एकल बहुमतका साथ छिटै नै प्रधानमन्त्री पदमा निर्वाचित गराउने नेपाली जनताको चाहना सफल बन्नेमा हामी सम्पूर्ण झापाली नागरिक तथा पार्टी परिवार पूर्ण विश्वस्त रहेका छौं ।

यही २०७८ मङ्सिर १०–१२ गते सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट अपार जनमतका साथ पार्टीको गरिमामय अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएकोमा अध्यक्ष कमरेड केपी शर्मा ओलीको कार्यकाल सफलताको शुभकामनासहित हार्दिक बधाइ ज्ञापन गर्दछौं । नेपाली जनताको आशा र भरोसाको शक्ति नेकपा एमालेलाई आगामी दिनमा मुलुकको पहिलो र नेतृत्वदायी शक्तिका रुपमा स्थापित तुल्याउनु हुने विश्वास व्यक्त गर्दै तपाईको सुस्वास्थ्य र दीर्घायूको कामनासहित नेकपा एमाले झापा परिवारको तर्फबाट हार्दिक अभिनन्दन अर्पण गर्दछौं ।