दमक – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर आफ्नो गृह नगर दमकको कार्यक्रममा व्यस्त हुनुभयो ।
अध्यक्ष ओलीले आज बिहान ११: ३० दमक ६ मा निर्माण सम्पन्न भएको सुनौलोद्धारको उद्धघाटन गर्नुभयो । रु. २१ लाख रुपैँयामा बनेको यो प्रवेशद्धार दमक नगरपालिका, वडा कार्यालय तथा विभिन्न व्यक्तिहरुको सहयोगमा निर्माण सम्पन्न भएको हो ।
त्यसपछि दमक अस्पतालमा निर्माण सम्पन्न भएको अक्सिजन प्लाण्टको उद्धघाटन गर्नुभयो । त्यसलगत्तै अध्यक्ष ओलीले सोही अस्पतालको निर्माणाधिन भवन निरीक्षण गर्नुभयो ।

अध्यक्ष ओली नेपालमै गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधिन दमक भ्यू टावरको स्वथलगत अवलोकन गर्नुभयो । सो भ्यू टावर १८ तालासम्म बन्ने भएको छ । हाल यो टावरको ९ तलाको काम भइरहेको छ ।
त्यसैगरी त्यही आयोजित औपचारिक कार्यक्रममा सहभागी हुनुभयो । दमक ३ मा रहेका ३३ विपन्न परिवारका लागि निर्माण गरिएको घरहरुको तालाचाबी लक्षित परिवारलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष ओलीले दमक नेपालकै उत्कृष्ट शहरको रुपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो । संरचना र यहाँका विकास निर्माणहरु अन्तराष्ट्रिय स्तरका रहेको बताउँदै उहाँले दमकलाई विशिष्टकृत शहरको रुपमा विकास गर्ने आफूले योजना बनाएको पनि सुनाउनुभयो ।

त्यसपछि ओली दमक ४ मा निर्माण हुँदै गरेको प्रदेश १ स्तरीय एकीकृत अपाङगता पूनःस्थापना केन्द्रको निरीक्षण गर्नुभयो । अपाङ्गता भएकाहरुलाई राज्यले समान अवसर दिनुपर्ने र क्षमता विकास गराउने कार्यक्रम तय गरिनुपर्ने उहाँले बताउनुभयो। साथै निर्माणाधिन पूनःस्थापना केन्द्रको भवन निर्माण सम्पन्न गर्नका लागि व्यक्तिगत रुपमा रु.५ लाख रुपैँया सहयोग गर्ने घोषणा समेत गर्नुभयो । त्यसपछि दमक ९ स्थित शान्ती मार्गबाट सेतुमारीसम्म जाने सडकको शिलान्यास गर्नुभयो ।
त्यसलगत्तै क्याम्पसमोड नयाँ आम्दा पाङमी चोकको करीब अढाइ किलोमिटरको सडक उद्धघाटन गर्नुभयो । सडक उद्धघाटनपछि दमक क्याम्पसको निर्माणधिन भवनको निरीक्षण गर्नुभयो ।
अन्तिममा दमक ७ स्थित पशुहाटमा गत शुक्रबारदेखि सुरु भएको बृहत् स्वास्थ्य शिविरको समापन गर्नुभयो ।
अध्यक्ष ओलीले भर्चुअलबाट उद्धघाटन गरेको शिविरको उहाँको भौतिक उपस्थितिमा समापन गर्नुभयो। शिविरबाट २ हजार ८ जनाले स्वास्थ्य परीक्षण गराएको आयोजक संस्थामध्येको घुन्सा फाण्डेसनको अध्यक्ष याङजु शेर्पाले जानकारी दिनुभयो ।








प्रतिक्रिया