काठमाडौं – नेकपा एमालेबाट विभाजन भएर बनेको पार्टी— ‘नेकपा एकीकृत समाजवादी’ का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर रिटको सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटालाई विपक्षी बनाएर दायर गरेको मुद्दाको पेसी न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको हो ।
आज गोलाप्रथाबाट पेसी तोक्दा उहाँहरूको इजलासलमा परेको हो । मुद्दा पेसी सूचीको ३६औं नम्बरमा परेको छ । सो मुद्दाको सुनवाइ हुने नहुने टुंगो भने लागेको छैन । यो मुद्दामा न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश थियो ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको, पार्टी अनुशासन र आचरण बाहिर गएको लगायतका विषयमा साउन २७ गते माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेर एमालेले सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।
सभामुख सापकोटले कारवाही अघि नबढाएको भन्दै सोही कुरालाई लिएर एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।







प्रतिक्रिया