अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाम चौरपाटी गाउँपालिकाका अध्यक्षले चामलसँग किन कोदो साटिरहेका छन् ?

अछाम चौरपाटी गाउँपालिकाका अध्यक्षले चामलसँग किन कोदो साटिरहेका छन् ?


अछाम – चौरपाटी गाउँपालिकामा सञ्चालित ‘कुटेको चामल, फलेको कोदो’ अभियानअन्तर्गत २२ क्विन्टल कोदो संकलन भएको छ । वडा नम्बर १ सुउडीस्थित गैरीलेख सहकारी भवनमा ५९३ किलो र महिला सहकारी भवन चौखुट्टेमा १६ सय ४ किलो गरी करीब २२ क्विन्टल कोदो संकलन भएको गाउँपालिका कृर्षि शाखा प्रमुख झप्पर भुलले जानकारी दिनुभयो ।

२६ मंसिरदेखि कोदो संकलन अभियान सुरू भएको हो । गाउँपालिकामा जग्गा बाँझो नरहोस् र कोदोको उत्पादन बढोस् भन्ने उदेश्यले ‘कुटेको चामल, फलेको कोदो’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनुभयो । उत्पादन वृद्धि तथा जग्गा बाँझो नरहोस् भनेर गत वर्षदेखि ‘कुटेको चामल, फलेको कोदो’ अभियान नीति तथा कार्यक्रममै समावेश गरेको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारी र तिव्र शहरीकरणका कारण कोदोको उत्पादन घटेको र जमिन बाँझो रहन थालेपछि यो अभियान चलाएको उहाँको भनाइ छ । फलेको कोदो बराबर चामल पाएपछि गाउँपालिकाका किसान खुसी भएको अध्यक्ष साउदले बताउनुभयो ।

किसानले सहजै कोदो साट्न पाउन भनेर पुनः सात दिन अभियान अवधि थपेको अध्यक्ष साउदले जानकारी दिनुभयो । अझै पनि गाउँघरमा मानिसले कोदोको फाइदाका बारेमा थाहा नपाएर हेला गरे पनि सहरमा बस्नेहरू भने कोदो महंगोमा किनेर खान थालेका छन् । यहाँ उत्पादन भएको कोदो धनगढी, नेपालगञ्जमा निर्यात हुने गरेको अध्यक्ष साउदले बताउनुभयो । आफूसँग भएको कोदोकै परिमाणमा चामल साट्न पाउँदा खुसी लागेको स्थानीय लालबहादुर थापाले बताउनुभयो ।

भात खान पाँच घण्टा हिंडेर चौखुट्टेबाट चामल बोकेर ल्याउने यहाँका किसानले गाउँमै कोदोको मूल्यमा चामल पाउँदा अझै मेहेनत गर्ने जाँगर पलाएको बताउनुभयो । कोदो विश्वको प्रमुख अन्न बाली हो । तर, पहाडी क्षेत्रमा उत्पादन हुने कोदोलाई गाउँमा बस्नेहरूले हेलाको दृष्टिले हेरे पनि यसको महत्त्व थाहा पाएका सहरवासीहरू भने महंगोमा किनेर खान थालेका छन् ।