अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए

रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिए


रसुवा – रसुवामा १६ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रसुवाले अभियान स्वरूप जिल्लाको चार वटा गाउँपालिकामा गरेको फोटोसहितको मतदाता नामावली संकलनमा १६ सय ३९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो । जसमा ८६५ जना पुरुष र ७७४ जना महिला रहेको उहाँले बताउनुभयो ।

जिल्लाको चार वटा गाउँपालिकामा दुई चरणमा मतदाता नामावली संकलन गरिएको थियो । पहिलो चरणअन्तर्गत गएको मंसिर १७ देखि २६ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा आमाछोदिङ्मो गाउँपालिकामा २४९ जना र नौकुण्ड गाउँपालिकामा ४१५ जना नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरि दोस्रो चरणअन्तर्गत मंसिर २९ देखि पुस ९ गतेसम्म गरिएको मतदाता नामावली संकलनमा उत्तरगया गाउँपालिकामा ४८० जना र कालिका गाउँपालिकामा ४९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाईकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरूप अघि बढाइएको थिएन । निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य भइरहने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

स्थानीय तथा संघमा निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल पनि सक्किँदैछ । रसुवामा २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार ८५१ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।