जुम्ला – जुम्लामा सञ्चालित ट्युसन सेन्टरका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । ट्युसन पढ्न आएका बालबालिकालाई सेन्टरमै पुगेर खोप लगाइने भएको हो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्ययनरत बालबालिकालाई खोप लगाइने चन्दननाथ नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
जुम्लामा सञ्चालित पाँच वटा ट्युसन सेन्टर छन् । त्यहाँ अध्ययनरत १२ वर्षदेखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात् १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताउनुभयो ।
उहाँका अनुसार सोमबार ट्युसन सेन्टरमा अध्ययनरत बालबालिका सहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाइसकिने छ ।
मंगलबार बिहान १० बजेदेखि सबै ट्युसन सेन्टरमा गएर खोप लगाइने स्वास्थ्य संयोजक महतको भनाइ छ । विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १८ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउन सबै ट्युसन सेन्टरका सञ्चालकलाई अनुरोध गरिएको छ ।
सरकारले जुम्लाको लागि करीब १३ हजार मोर्डना खोप पठाएको छ । जसमा यहाँका आठ स्थानीय तहमा १२ हजार २५० डोज खोप वितरण गरिएको छ । हालसम्म ५ हजार ८६९ जना बालबालिकाले खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी तथा खोप कार्यक्रमका संयोजक विजयाकुमारी प्रसाईंले जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नु पर्ने बताउनुभयो । उहाँले खोप निर्धारित समय भित्र लगाइ सक्नु पर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन योजनागत ढंगबाट अघि बढ्नु पर्ने बताउनुभयो ।
जुम्लामा मोर्डना खोप लगाउने राष्ट्रिय लक्ष्य १३ हजार बालबालिकाको भए पनि १७० वटा सरकारी विद्यालय र निजी विद्यालयका करीब २० हजार विद्यार्थीको तथ्यांक संकलन भएको छ ।
प्रतिक्रिया