अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई नियुक्त

रारा म्याराथनको सद्भावना दूतमा मिरा राई नियुक्त


काठमाडौं – कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत (गुडवील एम्बासडर) नियुक्त हुनुभएको छ । आगामी ११ वैशाखमा मुगुको रारा तालबाट सुरू भई चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तिव्र पारिएसँगै राईलाई सद्भावना दूत नियुक्त गरिएको हो । म्याराथनको आयोजना र व्यवस्थापन अन्तरालले गरेको हो । यस प्रतियोगितामा पुरुष तथा महिला फुल म्याराथनका दुवै विधामा समान पुरस्कार रहनेछ ।

सद्भावना दूतसहित मिरा राई रारा म्याराथनमा समेत सहभागी हुने छन् । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूसँगै दौडिने छु तर प्रतियोगीका रुपमा होइन्,’ मीराले भन्नुभयो ।

मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली ट्रेल तथा स्काई रनरका रूपमा परिचित एथ्लेट हुन्। दर्जनौँ अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्राफी एड्भेन्चर अफ द एयर’ विजेता पनि हुन् ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दूतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मीरा जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन् ।’

उहाँले जुम्ला विश्व किर्तिमानी धावक हरिबहादुर रोकायाको ठाँउसमेत भएको बताउनुभयो । ‘उहाँको मार्गनिर्देशनमा बढिरहेका छौं,’ अध्यक्ष शाहले भन्नुभयो, ‘जुम्लामा हरिदाईको अनुभव, लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै हुने ठूलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’

म्याराथनलाई भव्य रूप दिन सबै पक्षसँग छलफलअघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट को-अर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गर्नुभयो ।