बुटवल – नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उहाँले एमाले बाहेकका दल विचारविहीन रहेको टिप्पणी गर्नुभयो ।
उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गर्नुभयो । उहाँले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्दै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाउनुभयो।

एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताउनुभयो ।
राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरू सूर्य थापा, खिमलाल भट्टराई, विष्णु रिजाल लगायतले बोल्दै जनसंगठनहरूलाई सशक्त बनाउनुपर्ने बताउनु भएको छ ।
प्रेस चौतारीको रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक बसेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय महाधिवेशनसँगै प्रदेश र जिल्ला अधिवेशनको मिति पनि निर्धारण गर्ने संगठनका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।







प्रतिक्रिया