अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्र महाधिवेशन : बन्दसत्रको दोस्रो दिन के-के भयो ?

माओवादी केन्द्र महाधिवेशन : बन्दसत्रको दोस्रो दिन के-के भयो ?


काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र दोस्रो दिन मंगलबार पनि जारी रह्यो । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गर्नुभएको थियो ।

मंगलबार प्रचण्डले प्रस्तुत गर्नुभएको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि दिनभर समूहगत छलफल भयो । समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो ।

अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपराह्न १२ बजेभित्र छलफल सक्नेछन् । समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपराह्न १२ बजेसम्मको समय थप गरिएको छ ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेका छन् ।

बुधबार अपराह्न १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको छ ।