अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोगडाकेदार गाउँपालिकाका ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित

दोगडाकेदार गाउँपालिकाका ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित


बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएको छ । संघीय सरकारले स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो ।

गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ ।

कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । ‘बैतडी जिल्लाका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो। हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन । तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो । अहिले हामीलाई काम गर्न निकै असहज भएको छ,’  उहाँले भन्नुभयो ।

केही पदमा करारका कर्मचारी भर्ना गर्न सकिने भए पनि इन्जिनियर र वडा सचिवहरूको पदपूर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताउनुभयो । नयाँ भर्ना गरेकामध्ये तीनजनाबाहेक सबै कर्मचारी सरुवा भएको उहाँले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताउनुभयो ।