अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मोरङ ९औं अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुँदै

एमाले मोरङ ९औं अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुँदै


विराटनगर – नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनमा १ हजार तीन सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमितिका संयोजक रुपेश खतिवडाले पुस २३ गते विराटनगरमा हुने जिल्ला अधिवेशनमा १७ स्थानीय तहका १५९ वटै वडाहरुबाट १ हजार ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । पार्टी जिल्ला कमिटी, जिल्ला लेखा आयोग र निर्वाचन आयोगका सम्पूर्ण सदस्यहरु आयोजकका रुपमा प्रतिनिधि रहने उहाँले बताउनुभयो ।

जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिष्ट मञ्चबाट १०∕१० जना प्रतिनिधि चयन हुने उपसमितिका संयोजक खतिवडाले बताउनुभयो । उहाँका अनुसार जनसंगठनहरुबाट जिल्ला स्तरमा ५∕५ जना, मजदुरका सम्पूर्ण शाखा र ट्रेड युनियन महासंघबाट २१ जना, मोरङ-काठमाडौं सम्पर्क मञ्चबाट ५ जना, पिछडा वर्ग महासंघबाट ५ जना, दलित पार्टी सदस्यहरुको भेलाबाट २५ जना बराबर १ प्रतिनिधि छनोट हुने छन् ।

जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक पर्ने आर्थिक श्रोतका लागि पार्टी सदस्यहरुलाई मुख्य आधार बनाइ मोरङमा रहेका करीब ३५ हजार पार्टी सदस्यहरु प्रत्येकबाट ५०‒५० का दरले अधिवेशन सहयोग रकम संकलन गरिने र प्रतिनिधिहरुबाट ५०० र आयोजकबाट १ हजार शुल्क लिइने खतिवडाले बताउनुभयो ।

‘वैचारिक गतिशिल र रचनात्मक नेतृत्व, सुदृढ र एकताबद्ध संगठन, एमालेको नेतृत्वमा सम्वृद्ध मोरङ’ नाराका पुस २३ र २४ गते विराटनगरमा हुने अधिवेशनमा लोकतन्त्रको उच्चतम प्रयोग गरिने एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सकेसम्म सर्वसम्मत, नभए निर्वाचन प्रकृयामा १६५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ ।’ अधिवेशनले पदाधिकारी सहित जिल्ला कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो ।