अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय महिला लिग १५ माघबाट

राष्ट्रिय महिला लिग १५ माघबाट


काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराउनुभयो ।

‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भन्नुभयो ।

यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुने खड्काले बताउनुभयो ।

लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन् ।

गत जेठमा सम्मन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।