पोखरा– नेकपा (एमाले) कास्कीको भावी नेतृत्वलाई लिएर नेता कार्यकर्तामा छलफल तीब्र भएको छ ।
पुस २३ गते हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएपछि भावी अध्यक्षमा दाबी गर्नेहरुले पनि अडान छाडेका छैनन् । निवर्तमान अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएसँगै स्वतः पद रिक्त भएको छ ।
उपाध्यक्ष मनबहादुर गुरुङले अहिले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । नयाँ अध्यक्षमा पनि गुरुङको दाबी यथावत् छ । आफू उपाध्यक्ष रहेको र कार्यवाहक अध्यक्षसमेत रहेकाले आफ्नो दाबी सामान्य भएको उहाँको भनाइ छ ।
गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र बैरागीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको सहयोग रहेको निकटस्थहरुले बताएका छन् ।
अध्यक्षका लागि वर्तमान सचिव दामोदर बैरागीले पनि अडान राख्नुभएको छ । गुरुङ र बैरागीसँगै पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल र जिल्ला कमिटीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीको दाबी छ । पौडेल र अधिकारीले गत कात्तिकमा भएको महानगर कमिटीको अधिवेशनमा महानगर अध्यक्षमा दाबी गर्नुभएको थियो । अन्तिममा दिलिप न्यौपानेलाई अध्यक्ष बनाउँदै दुवैले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
जिल्ला कमिटी स्रोतका अनुसार सहमति नभएर चुनाव नै हुने अवस्थामा आए गुरुङ र बैरागीबीच प्रतिस्पर्धा हुने निश्चित छ । गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र बैरागीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको सहयोग रहेको निकटस्थहरुले बताएका छन् ।







प्रतिक्रिया