अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुनसरीको सातौं जिल्ला अधिवेशन पुष २३ मा

एमाले सुनसरीको सातौं जिल्ला अधिवेशन पुष २३ मा

दुई हजार प्रतिनिधि सहभागी हुने


सुनसरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने भएको छ।

पार्टी प्रचार-प्रसार उपसमितिले आज इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवं सांगठानिक अवस्थाको विचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनुभयो । अधिवेशनलाई पौष २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्नुहुनेछ ।

प्रचारप्रसार उपसमितिका संयोजक लोकेश निरौलाले जिल्ला अधिवेशनले एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसङ्ख्यक जातिहरूको समेत प्रतिनिधित्व हुने बताउनुभयो ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सहित १३५ सदस्य जिल्ला कमिटीको चयन गर्ने छ । अधिवेशन सम्पन्न गर्न २० लाख खर्च हुने अनुमान एमालेले गरेको छ । खर्चको व्यवस्थापन प्रतिनिधि, कार्यकर्ता शुभेच्छुकबाट गरिने बताइएको छ । अधिवेशनमा नौ उपसमिति गठन गरिएको छ ।

सांगठानिक तथा आर्थिक प्रतिवेदन तयारीको संयोजकमा पार्टी अध्यक्ष खेमराज पोखरेल, आर्थिक व्यवस्थापनको जिम्मेवारी निलम खनाललाई दिनुभएको छ । त्यस्तै मञ्च व्यवस्थापन उपसमितिको जिम्मेवारी शत्रुधनप्रसाद यादवलाई दिनुभएको छ । स्वयं सेवक परिचालन उपसमिति संयोजकमा पदम लिम्बु र अरुण गुरुङलाई तोकिएको छ । खाद्य व्यवस्थापन उपसमितिका लागि पर्शुराम यादव रहेका छन्।

प्रतिनिधि व्यवस्थापन उपसमितिमा नन्द बस्नेत र राम कोइराला छन् । अतिथि सत्कार उपसमितिमा लिलम बस्नेत र सिर्जना परियार छन् भने प्रचारप्रसार उपसमितिमा लोकेश निरौला र रबि खनाल रहेका छन् । स्वास्थ्य उपसमितिको जिम्मेवारी सुशील अर्याललाई संयोजक तोकिएको छ ।

जिल्ला अधिवेशन प्रतिनिधि छनौट वडा शाखा कमिटीको एकैसाथ पौष १७ गते गर्नेछ । वडा तथा कमिटीलाई प्रतिनिधि छनौटको भूगोल मानी २५ जना सङ्गठित सदस्य बराबर १ जना र प्रत्येक ३ जना प्रतिनिधिमा १ जना महिलालाई अनिवार्य गरिएको छ ।

पार्टीको लोगोमा अर्ना

यसैबिच आजै अधिवेशनको लागो पनि सार्वजनिक गरिएको छ । लोगोमा नेपालमा सबै भन्दा धेरै अर्ना भएको कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने अर्ना प्रयोग गरिएको छ । देशकै मात्र नभई अर्ना सबै देश विदेशको आकर्षण भएकाले समावेश गरिएको प्रचारप्रसार उपसमितिका सहसंयोजक रबि खनालले जानकारी दिनुभयो । उहाँले अर्ना सगैं सुनसरीका धार्मिक तथा पर्यटकीय गन्तव्य रामधुनी मन्दिर, धरानमा रहेको बुढासुब्बा, पिण्डेश्वर, दण्तकाली इटहरीमा रहेको तालतलैया र बर्जू ताललाई पनि लोगोमा प्रयोग गरिएको जानकारी दिनुभयो ।