अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिर्तामोड नगरपालिकाका मेयर–उपमेयरद्वारा बंगुर पालक किसानको खोरमै पुगेर अनुगमन

बिर्तामोड नगरपालिकाका मेयर–उपमेयरद्वारा बंगुर पालक किसानको खोरमै पुगेर अनुगमन


बिर्तामोड – बिर्तामोड नगरपालिका वडा-१० गौरव टोलस्थित कृषकहरुको खोरमै पुगेर मेयर–उपमेयरले अनुगमन गर्नुभएको छ । नगरपालिकाले किसानको घरमै पुगेर प्रोत्साहन समेत गर्दै आएको छ ।

नगरप्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहाल लगायतको टोलीले अनुगमन गरेको हो।

आर्थिक वर्ष २०७७/७८ को अनुदान अन्तर्गत केन्द्रबाट आएको रु.१० लाख र कृषक समुहको १० लाख रुपैयाँ गरी लागत साझेदारी कार्यक्रमका रुपमा सञ्चालन हुँदै आएको बंगुर प्रवद्र्धन कार्यक्रममा १५ जना कृषक सहभागी भएका छन् । ६५ हजार रुपैयाँ प्रति गोटका दरले खोर निर्माण गरेर कृषकहरुले उन्नत जातका बंगुरहरु पाल्दै आएका छन् ।

नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले अनगुमनका क्रममा कृषकहरुले सफा र व्यवस्थित ढंगले बंगुरपालन गरेको देख्दा खुशी लागेको बताउनुभयो । उहाँले बंगुरको उत्पादन बढाउनका लागि कृषि क्षेत्रमा अझै योजना बनाउनु पर्ने आवश्कयता रहेको बताउनुभयो । कृषकहरुले उन्नत जातका ल्यान्डेर्स, ड्युरोक, चाइनिज गोल्डेन र पाख्रीबास कालो जातको बंगुर पालन गर्दै आएका छन् । चाँडै फस्टाउने, धेरै बच्चा उत्पादन गर्ने र तौल पनि बढी हुने भएका कारण यी बंगुरहरु छनोटमा परेको पशुपंछी तथा मत्स्य विकाश शाखाकी प्रमुख सावित्रा दाहालको जानकारी दिनुभयो ।

बंगुर प्रवद्र्धन कार्यक्रम आएपछि व्यवस्थित ढंगले आधुनिक खोरमा पालन गर्दै आएको आधुनिक कृषि तथा पशुपालन समूहका अध्यक्ष अर्जुनकुमार राईले बताउनुभयो । यो कार्यक्रमबाट बंगुरपालक कृषकलाई धेरै फाइदा पुगेको भन्दै उहाँले अझै यस्ता कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनुभयो ।

बंगुरको मासुमा बिर्तामोड नगरपालिका आत्मनिर्भर रहेको भन्दै कृषकहरुले यसको बजार खोज्नु पर्ने बताउदै आएका छन् । भारत, भुटान लगायतका देशमा बंगुर बजारीकरण गर्नुपर्नेमा उनीहरुको माग छ । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रम अन्तर्गत पनि बंगुर पालन कार्यक्रमलाई अघि बढाउँदै आएको छ ।