प्यूठान – नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले एमालेले आगामी चुनावमा प्रथम पार्टीको रूपमा स्थापित हुने दाबी गर्नुभएको छ ।
नेकपा एमाले नौबहिनी गाउँपालिका प्यूठानको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै इन्चार्ज थापाले भन्नुभयो, ‘अब कसैका श्रीमती, कसैका भाउजु, कसैका छोरी, कसैका बुहारी जिताउने र पार्टीलाई सहायक शक्ति बनाउने होइन पार्टीलाई प्रमुख शक्तिको रूपमा स्थापति गराउने हो ।’
सोही विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले नेकपा माओवादी केन्द्रको ३० प्रतिशत हिस्सा एमालेमा समाहित भएको जानकारी दिनुभयो । उहाँले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र देशमा समृद्धि सम्भव भएकाले आफूहरू एमालेमा एकताबद्ध भएर अघि बढेको बताउनुभयो ।
त्यस्तै सोही कार्यक्रममा एमाले कैन्द्रीय सदस्य हरि रिजालले नौबहिनीमा एमालेले पहिलेदेखि नै आफूलाई व्यवस्थित, बलियो र संगठित बनाइराखेको भन्दै फेरि पनि चुस्त र दुरूस्त संगठन रहने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा पार्टीको दशौं महाधिवेशनको सन्देश, राष्ट्रिय राजनीतिमा नेकपा एमालेको भूमिका र जिल्लाको शक्तिसन्तुलन बारेमा उत्साहजनक उपस्थितिमा स्पष्ट गरिएको गाउँपालिका कमिटीका अध्यक्ष विष्णु केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य थापा, पोलिटब्यूरो सदस्य थापा, केन्द्रीय सदस्य रिजाल, प्रदेश कमिटी सदस्य अजय सिंह र जिल्ला कमिटी सदस्य डिलबहादुर थापा लगायतले विषयगत प्रशिक्षण पनि दिएका थिए ।







प्रतिक्रिया