पोखरा – माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिताको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् ।
१८औं संस्करणको प्रतिस्पर्धाअन्तर्गत फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा हराएर उपाधि चुमेका हुन् । उपाधिसँगै उनले नगद ८० हजार पुरस्कार पाएका छन् भने नेपालको शीर्ष स्थानमा उक्लिएका छन् ।
उपविजेता आरभले नगद ४० हजार सहित मेडल प्रमाणपत्र पुरस्कार पाए । ३५ वर्ष माथिको एकल तर्फ सन्तोष खत्री पहिलो बने भने भीष्म गुरुङ दोस्रो भए । खत्रीले नगद ६० हजार र गुरुङले ३० हजार पाएका छन् । ४५ वर्ष माथिको एकल उपाधि चन्द्र शाहीले जिते । विमल कुमार गुरुङलाई ६–३, ६–२ को सोझो सेटमा हराएर जित निकालेका हुन् ।
शाहीले ४० हजार र गुरुङले २० हजार पुरस्कार पाएका प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए । त्यस्तै ४५ वर्ष माथिको मेन्स डबल्समा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो । विनोद कायस्थ र विकास गुरुङको जोडी दोस्रो बन्यो ।
उक्त इभेण्टमा विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार पाएका छन् । टेनिस संघ कास्कीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । अन्य इभेण्टका खेलहरू बिहीबार नै सकिएका छन् ।
प्रतिक्रिया