भक्तपुर – चाँगुनारायण नगरपालिकाले सेवा निवृत्त गर्न चाहने शिक्षकलाई सम्मान गरेको छ । पालिकाले ‘गोल्डेन ह्याण्डचेक’मार्फत सेवाबाट अवकाश लिन चाहने सामुदायिक विद्यालयका शिक्षकलाई नगर शिक्षा शाखाको आयोजनामा सम्मान गरेको हो ।
सम्मानमा नगरपालिकाले शिक्षकलाई एक लाखदेखि चार लाखसम्म नगद र प्रशंसापत्र वितरण गरिएको शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाका प्रमुख वीरबहादुर खड्काका अनुसार नगरभित्रका सामुदायिक विद्यालयमा सेवा दिँदै आएका शिक्षकलाई गोल्डेन ह्याण्डचेकको व्यवस्था गरिएको र सोही सुविधामार्फत सेवाबाट अवकाश लिन चाहने शिक्षकलाई सम्मान गरिएको हो । उहाँले नगरभित्रका सामुदायिक विद्यालयबाट ३७ जना शिक्षकलाई सम्मान गरेको बताउनुभयो ।
नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले नयाँ पुस्तालाई रोजगारीको अवसर दिन र पुराना पुस्ताका शिक्षकलाई सम्मानका साथ बिदाइ गर्नको लागि सो कार्यक्रमको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार शिक्षा समयानुसार परिवर्तन हुनुपर्ने र सोही अनुरूप नयाँ पुस्तामा नयाँ प्रविधिको पहुँच हुने, नयाँ शिक्षा हुने भएकोले उनीहरूलाई शिक्षा क्षेत्रमा ल्याउनको लागि पालिकाले सो कार्यक्रमको व्यवस्था गरिएको हो ।
उहाँले शिक्षक समाजका सम्मानजनक व्यक्तित्व भएकोले अवकाशपछि पनि समाजमा सामाजिक र मानवीय सेवा गर्न अनुरोध गर्नुभयो । कार्यक्रमको लागि पालिकाले आन्तरिक स्रोतमार्फत १ करोड २५ लाख ६० हजार रुपैयाँको बजेट व्यवस्था गरिएको मिश्रले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अग्निप्रसाद अधिकारीले अवकाश लिएका शिक्षकले सेवाबाट अवकाश लिएता पनि नगरपालिका र समाजमा आवश्यकता अनुसार सल्लाहसुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाले दिएको सो सम्मानले शिक्षकहरूले प्रशंसा गरेका छन् । पञ्चकन्या माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक तथा शिक्षक सन्तराम दुलालले नगरपालिकाले दिएको सम्मानबाट आफू खुसी भएको बताउनुभयो ।
उहाँले विद्यालयको स्थापनादेखि हालसम्म शिक्षण पेसासँगै विद्यालयको शैक्षिक तथा भौतिक पक्षको विकासको लागि सधैँ लागिपरेको र सोको मूल्यांकन नगरपालिकाले गरेको बताउनुभयो । उहाँले पालिकाले ल्याएको कार्यक्रम राम्रो रहेको र अवकाश लिएको शिक्षकको स्थानमा चाँडै नयाँ पुस्ताका शिक्षकहरूको व्यवस्था गर्न पालिकासँग आग्रह गर्नुभयो ।
प्रतिक्रिया