कठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न स्थिर सरकार आवश्यक रहेको बताउनुभएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेकपा एमालेको नेतृत्वमा केही वर्ष देखि मुलुक विकास र समृद्धिको यात्रा तर्फ लम्किरहेको अवस्थामा केही व्यक्तिको स्वार्थले त्यसलाई रोक्ने प्रयास भएको उल्लेख गर्नुभएको छ ।
‘भर्खरै बिदा भएको सन् २०२१ मा केही शक्तिहरुले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरे,’ ओलीको सन्देशमा भनिएको छ, ‘मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको नेकपा (एमाले)को सरकारलाई संविधानको अपब्याख्याद्वारा हटाउँदै संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागबण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भए ।’
अध्यक्ष ओलीको सन्देशमा विगतमा एमाले नेतृत्वको सरकारले गरेका नेपाली भूभाग फिर्ता ल्ष्याउने प्रयास,मुलुकलाई मध्यम अर्थतन्त्र भएको देशमा उकाल्ने प्रयास भइरहेको चर्चा गर्नुभएको छ ।‘ हामी मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयासरत थियौँ र राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरिरहेका थियौँ ।
मुलुकलाई विकासको तीव्र गतिमा अघि बढाएर नवविनर्माणको नयाँ युगको थालनी गरिरहेका थियौँ, ’ओलीको सन्देशमा भनिएको छ ‘हामीले नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्न मध्यम अर्थतन्त्रको मुलुकका रुपमा स्थापित गर्न सफल भएका छौं ।’









प्रतिक्रिया