जनकपुर – साहुसँग ऋण लिदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ तर यहाँ ऋणका लागि साहुकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । यस्तै अचम्मको कुरा भएको छ, सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासाको एक दलित परिवारमा । उक्त स्थान निवासी रामविलास सदाले स्थानीय साहु रवि मण्डलसँग रु.२० हजार ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धनकीमा राख्नु परेको छ ।
‘गत २०७६ चैत महिनामा कोरोना महामारी फैलिन नदिन सरकारले लकडान गरेका बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकाले गाउँले रविसँग ऋण माग्न गएँ’, ६० वर्षीय सदाले भन्नुभयो, ‘तर रविले ऋण पाउन कुनै समान बन्धकी राख्नुपर्छ, नत्र ऋण पाइनन् भनेर फर्कायो ।’ आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दुखेसो छ । ‘मसँग बन्धकीमा राख्न न कुनै जग्गा छ, न त कुनै गरगहना वा चलअचल सम्पत्ति नै’, उहाँ भन्नहुन्छ, ‘त्यतिकै ऋण दिनुस् म मजदुरी गरेर विस्तारै तिरिदिन्छु भनेर आग्रह गर्दा सुरुमा साहू रविले मान्नु भएन, पछि बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो’, नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको सदाको गुनासो छ ।
ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिन भएको छ । ‘पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ क्यारे’, उहाँले भन्नुभयो, ‘ वडाध्यक्षबाट नागरिकताका लागि सिफारिस गराएर सबै कागजात लिइ पटकपटक बोदे बर्साइनस्थित इलाका प्रशासन कार्यालय पुगेँ तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइदिए ।’ एकातिर पतिको नागरिकता बन्धकीमा छ अर्कोतिर आफ्नो नागरिकताका लागि पतिको नागरिकता ल्याउनु भन्छ, त्यसैले ठूलो समस्यामा परेको सावित्रीदेवीको गुनासो छ ।
ऋण लिएबापत बन्धकीमा राखिएको पतिको नागरिकता माग्न पटकपटक साहूँ रविकहाँ धाए पनि ऋण चुक्ता नगरेसम्म नागरिकता फिर्ता गर्न नमानेकाले अप्ठ्यारोमा परेको उहाँको भनाइ छ । भारतको पञ्जाबमा मजदुरी गरी हालै फर्किनुभएका आफ्ना पतिले साहू रविलाई रु.२० हजारमध्ये रु.१५ हजार चुक्ता गरे पनि पुरै ऋण चुक्ता नभएसम्म नागरिकता फिर्ता नदिने साहूले बताउँदै आएका छन् ।
‘नागरिकता फिर्ताका लागि कि त पूरै ऋण चुक्ता गर कि त मेरो खेतबारीमा मजदुरी गरी ऋण चुक्ता गर भन्दै आएका छन्’, सावित्री देवी भन्नुहुन्छ, ‘एकातिर तत्काल ऋण चुक्ता गर्ने पैसा छैन, अर्कोतिर म आफू बिरामी रहेकाले काम गर्नसक्ने अवस्था छैन् ।’ त्यसैले अप्ठ्यारोमा छु उहाँको भनाइ छ । भारतको विभिन्न सहरमा मजदुरीका लागि नेपालबाट कामदार लैजाने र ल्याउने ठेक्कापट्टाको काम गर्दै आएका साहू रविले ऋणबापतको रकम चुक्ताका लागि सावित्री देवीका पति रामविलासलाई पनि भारतको पञ्जाब लगेका थिए ।
‘मजदुरी गरेर पञ्जाबमै साहू रविलाई रु.१५ हजार ऋण तिरिदिएँ’, रामविलासले भन्नुभयो, ‘तर बाँकी रु.पाँच हजार र केही ब्याज रकमका लागि रविले नागरिकता फिर्ता दिन चाहिरहनु भएको छैन ।’ बन्धकीमा रहेको नागरिकता फिर्ता नपाएपछि मैले नागरिकताको प्रतिलिपि बनाउन खोजे पनि आवश्यक प्रमाणको आभावमा त्यो पनि सम्भव नभएको रामविलासको भनाइ छ ।
‘नागरिकताको प्रतिलिपि बनाउन पहिलाको नागरिकताको नम्बर, र जारी मिति चाहिन्छ’, उहाँ भन्नुहुन्छ, ‘वडाध्यक्ष नजिक नागरिकता प्रतिलिपिको सिफारिस गर्न पहिलाको नागरिकताको फोटोकपी वा नागरिकता नम्बर र जारी मिति भएको कुनै प्रमाण ल्याउनू भन्नुहुन्छ, तर मसँग न नागरिकताको फोटोकपी छ, न त नागरिकताको नम्बर र जारी मिति नै थाहा छ ।’ त्यसैले प्रतिलिपिसमेत बन्न नसकेको रामिविलासको गुनासो छ ।
नागरिकता भएर पनि पहिचानविहीनको अवस्थामा पुग्दा राज्यका हरेक सेवा तथा सुविधाबाट समेत बञ्चित सदा दम्पतीले अहिलेको पहिचान विहीनताको अवस्थाबाट न्याय दिलाउन सबैसँग आग्रह गर्नुभएको छ । सदा दम्पतीको समस्यालाई लिएर नागरिकताका लागि आफूहरुले पहल गरिरहेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेशकुमार सदा बताउनुहुन्छ । द फ्रिडक फण्डको सहयोगमा उक्त केन्द्रले डाक्नेश्वरी नगरपालिका क्षेत्रमा दलित हरुवा चरुवा परिवारका लागि नागरिकता, जन्मदर्ताका लागि अभियान सञ्चालन गर्दै आएको छ ।
दलित बस्तीका हरुवा चरुवा परिवारलाई लक्ष गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी बताउनुहुन्छ । त्यही कार्यक्रमअन्तर्गत सदा दम्पतीको नागरिकता समस्या समाधानको पहल भइरहेको कार्यक्रम उहाँको भनाइ छ ।
प्रतिक्रिया